बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुरमा पर्ने सिद्धबाबा सामुदायीक वनमा सालका रुख अवैधरुपमा सालका रुख काटिएका छन् । डिभिजन बन कार्यालय बाँके, सिद्धबाबा सामुदायिक वन उपभोक्ता समिति र सामुदायीक वन तथा वातावरण संरक्षण समन्वय समितिको मिलेमतोमा १० वटा सालका रुख काटिएका छन् ।
सिद्धबाबा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुकुन्द पाण्डे, सामुदायीक वन तथा वातावरण संरक्षण समन्वय समिति बाँकेका अध्यक्ष लवराज खरेल र डिभिजन बन कार्यालयको मिलेमतोमा सिद्धबाबा सामुदायीक वनमा १० वटा सालका रुख काटिएका छन् । स्रोतका अनुसार ठेकेदार फुल्ली थारुलाई रुख कटानका लागि सामुदायीक बन क्षेत्रमा खटाइएको थियो ।
स्थानीय उपभोक्ताको निगरानी र सक्रियतापछि करिब ६८ क्यूफिट काठ सामुदायीक वनका अध्यक्ष पाण्डेको घरबाट बरामद गरिएको छ भने काठ निकासीका लागि प्रयोग गरिएको भे १ त ७६७१ नम्बरको ट्रयाक्टर काठ लोड गर्न नपाउँदै भागेको उपभोक्ताले बताएका छन् । अवैधरुपमा रुख कटान गरी निकासी हुन थालेपछि उपभोक्ताले निगरानी बढाएका छन् ।
बरामद गरिएको सालको काठ सव–डिभिजन बन कार्यालय, महिमानपुरमा राखिएको छ । डिभिजन बन कार्यालयले अवैधरुपमा काठ कटान र निकासीमा संलग्नहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेको जनाइएको छ । ‘काठ बरामद भइसक्यो, मान्छे भेटिएका छैनन् भन्दै काठ तस्करीमा संलग्नलाई उम्काउने कोशिष गरिएको छ,’ एक जना उपभोक्ताले भने ।
काठ कटान भएको क्षेत्र पनि सव–डिभिजन बन कार्यालय, महिमानपुरको एक किलोमिटर नजिकै पर्छ । निजी बनमा काठ कटानको ठेक्का लिएका ठेकेदारले लकडाउनको मौका छोपेर डिभिजन बन कार्यालयको संरक्षण र सामुदायीक बन समितिका अध्यक्षको मिलेमतोमा सालका रुख अवैधरुपमा कटान गरेर निकासी भइरहेको उपभोक्ताहरुले निगरानी बढाएका छन् ।
‘बन समितिका अध्यक्ष नै सालका रुख काट्न र निकासी गर्न संलग्न छन्,’ स्रोतले भन्यो । सिद्धबाबा सामुदायिक वनका अध्यक्षकै घरबाट काठ बरामद भएको र काठ निकासी गर्न सामुदायीक वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्षको ट्रयाक्टर प्रयोग भएको प्रमाण हुँदाहुँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन आनाकानी गरिएको छ ।
‘डिभिजन बन कार्यालयले मान्छे बरामद नभएको भन्दै पन्छिन खोजेको छ । अध्यक्षकै घरबाट काठ बरामद हुँदा अध्यक्षलाई कारबाही गर्ने कि नगर्ने ?’ उपभोक्ताहरुले आक्रोश व्यक्त गर्दै भने, ‘डिभिजन बन कार्यालयकै मिलेमतोमा काठ तस्करमिा संलग्नलाई उन्मुक्ति दिइँदैछ । यस विषयमा गम्भीररुपमा छानविन गरी तस्करहरुलाई कारबाही हुनुपर्छ ।’
सव–डिभिजन बन कार्यालयकै नाकमूनी सामुदायीक वनमा सालका रुख काटिएको विषयमा उपभोक्ताले भनेपछि मात्रै थाहा हुनु मिलेमतो र लाखौं रकमको चलखेल भएको प्रष्ट हुन्छ । डिभिजन बन कार्यालयले साल कटान गरेर काठ निकासी गर्ने मुकुन्द पाण्डे, लवराज खरेल र फुल्ली थारुलाई बचाउनकै लागि मुद्दा विषयान्तर गराउन खोजेको स्थानीयहरुको आरोप छ ।
उपभोक्ता भन्छन्, ‘वन नै सखाप हुनेगरि भर्खरैका सालका रुखहरु काटिएको छ, निकासी गरेको स्थानीयले देखेका छन् । काठ चोरी निकासी समितिकै पदाकिारीको मिलेमतो छ । डिभिजन बन कार्यालयले भने मान्छे नभेटिएको भन्दै झुट बोलेर काठ तस्करीमा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिरहेको छ । उनीहरुलाई तत्काल मुद्दा चलाएर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
डिभिजन बन कार्यालय बाँके, सव–डिभिजन बन कार्यालय महिमानपुर, बन उपभोक्ता समिति र सामुदायीक वन तथा वातावरण संरक्षण समन्वय समितिको मिलेमतो कटान पूर्जी बिनै सालका रुखहरु काटेर निकासी भइरहेको उपभोक्ताहरु बताउँछन् । उपभोक्ताहरुका अनुसार उक्त काठको बजार मूल्य झण्डै पाँच लाख रुपैयाँ बराबर रहेको छ ।
सामुदायीक बन उपभोक्ता समितिकै अध्यक्षको घरको हाताभित्रैबाट काठ बरामद हुँदासमेत उनीमाथि कारबाही नहुनुले डिभिजन बन कार्यालयको मिलेमतो प्रष्ट हुन्छ । यस विषयमा थप बुझ्न खोज्दा डिभिजज बन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्रीसँगको सम्पर्क प्रयास भने सफल हुन सकेन ।
।