सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा रेम्सिडिभिरको अभावसँगै कालोबजारी

बाँके । कोभिड–१९ सङ्क्रमितका बिरामीको उपचारमा प्रयोग भइरहेको रेम्सिडिभिर औषधि नेपालगन्जमा कालोबजारी गरेको पाइएको छ । नेपालगन्ज शिक्षण अस्पताल परिसरमा रहेको गौतमबुद्ध फार्मेसीले २१ भाइल औषधि बिना बिलबिजक बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले पक्राउ गरेको छ । टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम फार्मेसीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके, औषधि व्यवस्थापन कार्यालय, वाणिज्य कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज तथा उपभोक्ता संरक्षण मञ्च बाँकेलगायतको संयुक्त टोलीले नेपालगन्जमा गरेको बजार अनुमगनका क्रममा फार्मेसीलाई कारबाही गरेको हो । नेपालगन्जमा ३०० भन्दा बढी कोभिडका बिरामीको उपचार भइरहेको भेरी अस्पतालमा भन्दा बढी रेम्सिडिभिर भाइल शिक्षण अस्पतालमा पाइएको छ ।

शिक्षण अस्पताल नेपालगन्जमा कोभिडका न्यूनतम बिरामीको मात्रै उपचार भइरहेको छ । भेरी अस्पतालमा अहिले पनि पर्याप्त मात्रामा रेम्सिडिभिर नरहेको अस्पतालले जनाएको छ । संयुक्त बजार अनुगमन टोलीले नेपालगन्जका विभिन्न स्थानमा अनावश्यक रूपमा मौज्दात गरी राखिएको ३८ थान अक्सिजन सिलिन्डरसमेत बरामद गरी जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाइएको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार १०:२०