सूचनाको शक्ति - The Power Of Information

        

बागमती र गण्डकीमा वर्षा जारी, अझै केही दिन मौसम नखुल्ने

काठमाडौं ।  अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका  थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भोलि वैशाख ३१ गते शुक्रबार देशका प्रदेश नं १ र अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागहरुमा आंशिक बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जेठ १ गते शनिबार देशका प्रदेश १ सहित पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।  प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार ०८:१०