सूचनाको शक्ति - The Power Of Information

        

सरकार बनाउन दौडधुप

देउवा–प्रचण्डलाई सरकार बनाउन सकस, माधव निर्णायक, जसपामा लफडा

काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरूबीच यतिबेला दौडधूप चलेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अध्यक्ष उपेन्द्र यादव नयाँ सरकार बनाउन लागिपरेका हुन् ।

उनीहरुको यो प्रयास सफल हुन नसके एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने वा देश निर्वाचनमा जाने स्थिति आउनसक्छ । अहिले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार बनाउने पक्षमा देखिएका छैनन् । गठबन्धन सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको जसपाभित्रको विवादले देउवा–प्रचण्डलाई सरकार बनाउन सकस परिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने संसद् बैठकमै पनि महन्थ ठाकुर र उपेन्द्र यादवबीच फरक मत देखिएको थियो । जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव नयाँ सरकारको पक्षमा उभिएपनि अर्का अध्यक्ष ठाकुर भने तटस्थ बस्ने अडानमा छन् । सोमबार ओलीले विश्वासको मत लिने क्रममा पनि उनी तटस्थ रहे ।

अर्का अध्यक्ष यादवले भने देउवा र प्रचण्डसँग मिलेर संसद बैठक सकिनासाथ राष्ट्रपति समक्ष नयाँ सरकार बनाउने बाटो खोल्नका लागि पत्र पठाएका थिए । तर, ठाकुरले भने मध्यरातमा जसपा नयाँ सरकारको पक्षमा नरहेको भन्दै विज्ञप्ति निकाले । ठाकुरले अर्का अध्यक्ष यादवको निर्णय पार्टीगत नभएर व्यक्तिगत भएको भन्दै राष्ट्रपति कार्यालयलाई पत्रसमेत पठाएका छन् ।

बल फेरि माधव नेपालको कोर्टमा

एमाले नेता माधवकुमार नेपाल समूहले नै ओलीको सत्तामा संकट ल्याउन मुख्य भूमिका खेलेको थियो । आफ्नो अडानबाट हत्तपत्त ‘ब्याक’ नहुने नेपालले पार्टीभित्र विधि र पद्धतिको कुरा गरिरहेका छन् । ओलीले नेकपाको एकता भंग भएपछि पनि नेपाल समूहलाई छलेर एकलौटी निर्णय गरिरहे । ओलीसँगको विवादले एमालेमै रहेर फरक पार्टीको अभ्यास गरिरहेको नेपाल समूह निर्णायक भूमिकामा देखिरह्यो ।

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री जोगाएको नेता नेपाल समूहले केन्द्रमा पनि उस्तै राजनीति खेल्यो । ओलीले विश्वासको मत लिँदै गर्दा बैठकमा अनुपस्थित भइदिए । फलतः ओलीले आफ्नै दलबाट पनि विश्वासको मत पाएनन् । एमालेले पार्टीको ह्वीप विपरीत गए कारबाही गर्ने चेतावनी दिँदै आएको थियो । तर, परिस्थिति अर्कै बनेपछि तत्काल नेपाल समूहलाई कारबाही गर्न नसक्ने अवस्थामा ओली पुगे ।

नेपाल समूहमाथि पार्टी बैठक बसेर निर्णय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले बताइसकेका छन् । ‘उहाँहरूले पार्टीको विधान, निर्णय र हित विपरित कदम चल्नुभएको हो, त्यसबारे पार्टीको बैठक बसेर निर्णय गर्छ,’ प्रमुख सचेतक भट्टराईले भनेका थिए । अबको रणनीतिबारे नेता नेपाल समूहले पनि विभिन्न कोणबाट छलफल गरिरहेको भए पनि अझै एकखालको सहमति बन्न सकेको छैन ।

जसपामा लफडा

नयाँ सरकारको विषयमा जसपाभित्र चरम विवाद छ । ओली सरकारको बहिर्गमन गरेर नयाँ सरकार बनाउन (उपेन्द्र–बाबुराम) समूह जुटेको छ । तर, अर्का अध्यक्ष ठाकुर त्यसको विपक्षमा उत्रिएका छन् । एमाले विवाद झैं जसपाभित्र पनि एक–अर्कालाई कारबाही गर्ने तयारीमा नेताहरू पुगेका छन् । अध्यक्ष ठाकुरले ओली सरकारबाट आफ्नो माग सम्बोधन भइरहेकाले अर्को सरकारको विकल्प खोज्न नहुने बताएका छन् ।

‘वर्तमान परिस्थितिमा जसपा सत्ताप्राप्ति भन्दा पनि आफ्नो एजेण्डा सम्बोधन गराउने पक्षमा छ । ’सरकारमा सहभागी हुने या नयाँ सरकार निर्माणमा संलग्न हुने कार्य जसपाको उद्देश्य विपरीत हो, मधेश आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ,’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ठाकुरले अध्यक्ष यादवको निर्णय व्यक्तिगत भएको राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

तर, ठाकुर अध्यक्ष भए पनि संसदीय दलको नेता नभएकाले त्यसबारे पार्टीबाट औपचारिक निर्णय हुने अध्यक्ष यादव बताउँछन् । अध्यक्ष यादव भन्छन्, ‘हामीले असंवैधानिक कदम चाल्ने सरकार फाल्नुपर्छ भनेर लागेका छौँ, हिजो संसदमा हामीले देखाइ सकेका छौँ, अब सरकार गठनबारे पार्टीबाट निर्णय गरेरै जान्छौँ ।’

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ०९:४९