सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौं ।  मुलुकका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेकाले देशभर वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशका सुदूरपश्चिम, बाग्मती तथा प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भुभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

आज राति प्रदेश १, प्रदेश २ र बागमति प्रदेशका तराईका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहीबार देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ०९:१२