सूचनाको शक्ति - The Power Of Information

        

बाबुराम भट्टराई पनि ‘अर्ली इलेक्सन’ को पक्षमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक वर्षभित्र चुनाव गराउनुपर्ने बताएका छन्।

बुधबार ट्वीट गर्दै उनले देशको संकट समाधान गर्न एक वर्षमा चुनाव गराउन प्रस्ताव अघि सारेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठनको दाबी गर्ने दाबी गरिरहेको समयमा उनले यस्तो प्रस्ताव गरेका हुन्।

भट्टराईले पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन्। उनले सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने, पूर्व प्रधानमन्त्रीबाहेकको नेतृत्व सरकार बनाउनुपर्ने, दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशन समिति गठन गर्नुपर्ने, कोरोना नियन्त्रण, द्वन्द्वकालीन मुद्धा, संविधान संशोधन, आर्थिक राहतलगायत लागू गर्नुपर्ने र एक वर्षभित्र चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। 

वैकल्पिक सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जसपामा दुई धार देखिएको छ। उपेन्द्र यादव विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन्।

प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने योजनामा उपेन्द्रको सक्रियता पार्टी निर्णय र लाइन विपरीत भन्दै महन्थले अलग्गै विज्ञप्ति निकालेका थिए।

सोमबार संसदमा प्रधानमन्‍त्रीले विश्‍वासको मत दिने क्रममा जसपा विभाजित भएको थियो। उपेन्द्र पक्षका १५ जनाले विपक्षमा मत हाले भने ठाकुर पक्षका १५ जना तटस्थ बसे र दुईजना अनुपस्थित रहेका छन्। त्रिशंकु संसद्को अंकगणितमा ३४ सिट भएको जसपा निर्णायक खेलाडीको भूमिकामा छ। उसले जसलाई समर्थन गर्‍यो उसकै सरकार बन्‍ने अवस्था छ।

अब के गर्ने भन्नेमा ठाकुर पक्ष प्रथम अध्यक्ष ठाकुर नै भएकाले उनको हस्ताक्षर आधिकारिक हुने बताउँदै आएको छ। यादव पक्ष केन्द्रीय कार्यकारिणी समितिको निर्णय सबैले मान्नु पर्ने अडान राख्दै आएको छ।

सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा आफ्नो दावी पेश गर्न आह्वान गरेकी छन्।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ०८:५४