सूचनाको शक्ति - The Power Of Information

        

एमालेमा विभाजनको संघारमा

ओलीको दम्भले सामूहिक राजीनामा बाध्यात्मक विकल्प : माधव–खनाल समूह

नेता झपट रावलले भने, ‘प्रधानमन्त्री ओलीको दम्भकै कारण एकता नजोगिने भयो ।’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको दम्भको कारणले पार्टी एकता जोगाउन असफल भएको एमालेको माधव–खनाल समूहले निष्कर्ष निकालेको छ । आफ्नो समूहले दिएको समयसीमाभित्र ओलीले कुनै प्रतिक्रिया नआएको हुनाले सामूहिक राजीनामाको तयारी भइरहेको नेता झपट रावलले बताए ।

‘ओलीको दम्भको कारणले पार्टी एकताको सम्भावना करिब टुंगिएको छ । अहिले छलफल चलिरहेको छ । हामी सामूहिक राजीनामाको अन्तिम तयारीका छौँ,’ उनले भने । प्रधानमन्त्री ओलीले आजै संसदमा विश्वासको मत लिँदैछन् । माधव समूहले पार्टी एकता जोगाउनका लागि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्कनुपर्ने अडान राख्दै आएको छ । तर, ओली आफ्नो निर्णय फिर्ता लिने मनस्थितीमा छैनन् ।

माधव–खनाल समूहले सहमतिका लागि पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सोमबार विहान ९ बजेसम्म दिएको समयसीमा सकिएको छ । तोकिएको सममयसीमा सोमबार बिहान ९ बजेसम्म अध्यक्ष ओलीबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरू अन्तिम निर्णयका लागि सिंहदरबारमा भेला हुन सुरु गरिएको नेपाल पक्षका नेता एवं एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘सहमतिका लागि हामीले दिएको समयसीमा सकिएको छ, तर प्रधानमन्त्रीज्यूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ सोमबार बिहान उनले भने, ‘अब कोर्स निकै अगाडि बढेको छ, हामी सिंहदरबारमा भेला हुँदैछौं, यहींबाट अन्तिम निर्णय गर्नेछौं ।’ आइतबारै सामूहिक राजीनामा दिने तयारी गरेर नेपाल पक्षका सांसद सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए ।

तर सल्लाह गर्न भन्दै ओली पक्षका एमाले नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङ त्यहीं माधव नेपाललाई भेट्न पुगेपछि राजीनामा रोकिएको थियो । पौडेल र नेम्वाङसँग छलफल गरेपछि नेता नेपालले आफ्ना सांसदसहितका नेताहरूसँग पुनः आन्तरिक छलफल गरी सहमतिका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए ।

सचिव भट्टराईले आइतबार सोमबार (आज) बिहान ९ बजेसम्म अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट कुनै पहल भएन भने आफूपक्षीय सांसद साढे ९ बजे सिंहदरबारमा भेला हुने र सामूहिक राजीनामा दिने दाबी गरेका थिए । त्यसपछि आइतबार मध्यराति माधव नेपालले ओलीलाई ६ बुँदे पत्र पनि पठाएका छन् ।

सर्वाेच्च अदालतको फैसलापछि नेकपाबाट अलग भएको एमालेलाई २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग एकता हुनुअघिकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षको माग छ । किनकि अदालतको फैसलापछि ओलीले एमालेमा पद र जिम्मेवारी अदलबदल गराइसकेका छन् । उनले एमालेमा अध्यक्ष र महासचिवबाहेक अन्य सबै पदाधिकारीको पद खारेज गरिसकेका छन् भने माधव नेपाल–झलनाथ खनाल पक्षलाई जिम्मेवारीविहीन बनाएका छन् ।

साथै गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रबाट आफूसँग आएका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउँदै एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गर्नेलगायत थुप्रै निर्णय गरिसकेका छन् । यी सबै खारेज गरी पार्टीलाई नेकपा बन्नुअघिकै अवस्थामा कायम गरिनुपर्ने अडान नेपाल पक्षको छ भने प्रधानमन्त्री ओली भइसकेका निर्णय बदल्न नसकिने जिकिर गरिरहेका छन् । यसैकारण दुई पक्षबीच पटकपटक भएका भेटवार्ता र छलफललले पनि सहमति हुन नसकेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १०:४७