सूचनाको शक्ति - The Power Of Information

        

सांसद कोषको रकम अक्सिजन व्यवस्थापनमा

बाँके । कोरोना ‘हटस्पट’ बनेको बाँकेमा गम्भीर किसिमका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँस्थित भेरी अस्पतालमा क्षमताभन्दा धेरै बढी सङ्क्रमितको उपचार भइरहेको छ ।

अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक परेकाले अक्सिजनको माग अत्यधिक भएकाले अहिले बाँके क्षेत्र नं.२ का सांसद मोहम्मद इस्तियाक राईले आफ्नो संसदीय विकास कोषबाट दिएको ५० लाख रुपियाँले अक्सिजन खरिद गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ ।

सङ्क्रमित अत्यधिक बढेसँंगै अक्सिजनको खपत बढेपछि सो खरिदका लागि बजेटको अभाव भएकै बेला सांसद राईले दिएको रकमले खरिद गर्न सुरु गरेपछि ठूलो राहत भएको भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले बताए ।

उनले अहिलै दैनिक करिब ४०० सिलिन्डर अक्सिजनको खपत रहेकाले सो रकम नपाएको भए ठूलो समस्या हुने बताए । अहिले दैनिक आवश्यक पर्ने सिलिन्डर सोही रकमबाट खरिद गर्ने कार्य भइरहेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले पनि सांसद राईको संसदीय विकास कोषबाट प्राप्त भएको ५० लाख रुपैयाँको अक्सिजन खरिद गरेर बिरामीलाई उपचार गर्न भेरी अस्पताललाई अख्तियारी दिइएको बताइन् । सांसद राईले दिएको रकमबाट करिब पाँच हजार सिलिन्डर खरिद गर्न मिल्ने भएकाले एक महिनासम्म काम चल्ने बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार ०८:३२