सूचनाको शक्ति - The Power Of Information

        

समाजसेवी सिजनको नीजि घरमा ‘आइसोलेसन’

बाँके । कोरोना भाइरस सङ्क्रमण निरन्तर बढ्दै गएपछि सरकारले कोरोनाको दोस्रो लहरलाई विद्यमान स्वास्थ्य प्रणालीले थेग्न कठिन भइरहेको छ । हालको स्वास्थ्य प्रणाली र जनशक्तिले कोरोना महामारीलाई थेग्न कठिन परिरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै जनाइसकेको छ । सरकारी तथा नीजि अस्पतालहरुले कोरोना संक्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न शैय्या उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताइरहेका छन् ।

पछिल्लो समय नेपालमा कोरोना दिनप्रति दिन बढेसँगै कोरोना संक्रमितहरुको अवस्था दयनीयसमेत बनेको छ । चिकित्सकहरुले आम नागरिकलाई थप संवेदनशील हुनसमेत आग्रह गरिरहेका छन् । अहिले नेपालमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएको छ । पछिल्लो समय नेपालमा कोरोना एक जनाबाट अर्को जनामा सर्ने दर विश्वमै खराब अवस्थामा पुगेको समेत विज्ञहरूले बताइरहेका छन् ।

पछिल्लो समय कडा लक्षणका संक्रमित भेटिन थालेपछि धेरैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएपछि अस्पतालका शैय्याहरू भरिँदै जान थालेका छन् । सरकारी तथा नीजि अस्पतालहरुमा कोरोना संक्रमितको चाप ह्वात्तै बढेसँगै शैय्याहरू अभाव हुन थालेपछि काठमाडौंकी एक जना समाजसेवीले आइसोलेसन निर्माणका लागि स्थानीय तहलाई आफ्नो घरमा उपलब्ध गराएकी छन् ।

अस्पतालहरुले शैय्या अभावका कारण बिरामीहरुलाई भर्ना नलिरहेका बेला नागार्जुन नगरपालिका–५ की समाजसेवी सिजन श्रेष्ठले आइसोलेसन निर्माणका लागि वडा कार्यालयलाई आफ्नो निजी घर उपलब्ध गराएकी हुन् । कतिपय कोरोना संक्रमितहरुले शैय्या नपाउँदा अस्पताल प्राङ्गणमै ज्यान गुमाउन परिरहेको भन्दै उनले समस्या परेका कोरोना संक्रमितको सेवाका लागि आइसोलेसन सेन्टर बनाउन घर उपलब्ध गराएको बताएकी छन् ।

नेपालमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेपछि अवस्था भयावह बन्दै गएको छ । धेरैजसो संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने गरेको छ । यस्तो अवस्थामा नागर्जुन नगरपालिकाका अस्पतालमा शैय्या पाउन नसक्ने कोरोना संक्रमितहरुका लागि समाजसेवी श्रेष्ठले आफ्नो घरमा आइसोलेसन सेन्टर बनाउन दिएर उदाहरणीय कार्य गरेको नागर्जुन नगरपालिका–५ का वडाध्यक्ष महेश रिमालले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार २१:५२