सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

पत्रकारको स्वास्थ्य सुरक्षामा पत्रकार महासंघ नै बेखबर, अनलाइन पत्रकार संघ सक्रिय

लुम्बिनी प्रदेशमा हालसम्म ३८ जना पत्रकार कोरोना संक्रमित भएका छन् । उनीहरूमध्ये सबैभन्दा बढी रुपन्देहीमा १४ जना र बाँकेमा १२ जना संक्रमित भएका छन् ।

बाँके । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बढ्दो कोरोना नियन्त्रणमा लागि विभिन्न जिल्लामा बिरामी पत्रकारका लागि अक्सिजनसहितका आइसोलेसन निर्माण भइरहेको जनाएको छ । स्थानीय तह, जिल्लास्थित संघसंस्था र सहयोगीमार्फत यस्ता आइसोलेसन निर्माण गरेर सञ्चालनमा ल्याइएको जनाइएको छ ।

महासचिव विक्रम खड्काद्वारा जारी विज्ञप्तीमा समितिले प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेसन निर्माण गरिएको जनाइएको छ । अर्घाखाँचीमा भने अन्य संघसंस्थाको सहकार्यमा संयुक्तरूपमा आइसोलेसन निर्माण गरिएको महासचिव खड्काद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दाङमा ६ वेडको आइसोलेसन निर्माण गरिएको छ भने आइसोलेसन निर्माण गरिएका अन्य जिल्ला शाखामा ५ बेडका आइसोलेसन निर्माण गरिएका छन् । कोरोना महामारीका बेला नेपाल पत्रकार महासंघको सबैभन्दा पुरानो शाखाका रुपमा रहेको बाँके शाखा मौन भने छ । शाखाले अहिलेसम्म कोरोना संक्रमितको अवस्थासम्म नबुझेको संक्रमितहरुको भनाई छ ।

बाँकेमा कोरोना संक्रमण बढेपछि बाँके लगायतका शाखालाई तत्काल आइसोलेसन बनाउन वा पत्रकारको सुरक्षाका लागि आवश्यक गतिविधि गर्न नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले दिएको निर्देशनको समेत बेवास्ता गरेको छ । अहिलेसम्म कोरोना संक्रमित भएका बाँकेका पत्रकारहरुका बारेमा बाके शाखाले चासो समेत लिएको छैन ।

‘बाँकेमा पत्रकार महासंघको शाखा छ र ?’ एक जना संक्रमितले पत्रकारले प्रश्न गर्दै भने, ‘यहाँ पत्रकार महासंघ भएको अनुभूति नै भएन । यस्तो महामारीका बेला पत्रकार संक्रमित भइरहेका छन् । महासंघले अहिलेसम्म चासो र चिन्तासमेत नलिनुले यहाँ महासंघको शाखा छ कि छैन खोज्नुपर्ने अवस्था आएको छ ।’

प्रदेशका अन्य जिल्लामा प्रदेशले गरेको निर्देशन अनुसार काम अघि बढिसकेको छ । तर, बाँकेमा दामोदर भण्डारीको नेतृत्वमा रहेको नेपाल पत्रकार महासंघ बाँके शाखाले भने यस बिषयमा अहिले पनि कुनै चासो देखाएको छैन । प्रदेश समितिको निर्देशन अनुसार अन्यत्र जिल्लामा आइसोलेसन समेत बनिसकेका छन् ।

लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागाईका अनुसार बाँके शाखाले अहिलेसम्म प्रदेशको निर्देशन र आग्रह टेरेको देखिँदैन । बाँके शाखाले विभिन्न व्यक्ति र संस्थाले पत्रकारका लागि भनेर दिएका मास्कसमेत गोदाममा थन्काएर यस्तो महामारीको अवस्थामा कानमा तेल हालेर बसेको कार्यसमितिकै सदस्यहरुको आरोप छ ।

‘के कति कारणले अध्यक्षले मास्क थन्काएर राख्नुभएको छ, हामीलाई छैन,’ कार्यसमितिका एक जना सदस्यले भने, ‘यस्तो संवेदनशील अवस्थामा विभिन्न व्यक्ति तथा संघसंस्थाले दिएका स्वास्थ्य सामाग्री थन्क्याएर राख्नु राम्रो पक्ष होइन । कोरोनाको जोखिम मोल्दै रिपोर्टिङ्गमा खटिएका पत्रकारहरुलाई यी सामाग्रीहरु तत्काल वितरण गर्नुपर्छ ।’

कोरोना संक्रमण बढेको र यसबाट पत्रकारहरू समेत अछुतो नरहेको अवस्थामा पत्रकार महासंघको लुम्बिनी प्रदेश समितिले एक साताअघि नै बाँके लगायतका जिल्लालाई आइसोलेसन बनाउन, पत्रकारको सुरक्षा र व्यवस्थापनमा आवश्यकता अनुसार काम गर्न निर्देशन दिइसकेको प्रदेश समितिका उपाध्यक्ष चौलागाई बताउँछन् ।

पास वितरणमा समेत महासंघले दलिय गन्ध देखाएको पत्रकारहरूकै आरोप छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगीले प्रदेश समितिको निर्देशन अनुसार बाँकेले आवश्यक रणनीति बनाइरहेको बताएका छन् । शाखाका सचिव डाँगीले यस विषयमा थप जानकारी लिन अध्यक्षसँग प्रतिक्रिया लिन आग्रह गरे ।

पत्रकारलाई सुरक्षित बनाउनका लागि आवश्यकता अनुसार काम गर्न निर्देशनसहितको सूचना सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बन्धीत सबैमा अवगत गराएको प्रदेश समितिका अध्यक्ष बसन्त गिरी बताउँछन् । उनले पत्रकार महासंघले बाँकेमा संक्रमित हुनुभएका पत्रकारहरुको स्वास्थ्य अवस्थाका बारेमा चासो नलिनु गम्भीर गल्ती भएको बताए ।

बाँके शाखा उदासीन रहेको बेला अनलाइन पत्रकार संघ बाँकेले भने पत्रकारका हकहित र सुरक्षाका लागि गतिविधि गर्दै आएको छ । संघले पत्रकारलाई कोरोना संक्रमणका बेला रिर्पोटिङ्गका लागि सुरक्षाको प्रबन्धसमेत मिलाएको छ । कुनै पनि पत्रकारलाई रिर्पोटिङ्गमा आफनै संस्थाको पास भए हुने प्रशासनसँग सहमति गरेको छ ।

सक्रिय पत्रकारलाई मास्क वितरण गर्दै आएको छ । पत्रकारलाई रिर्पोटिङ्गमा कुनै पनि समस्या परे तत्काल सहजिकरण संघले गरिरहेको संघका अध्यक्ष कमल न्यौपाने बताउँछन् । अनलाइन पत्रकार संघले केही दिनअघि मात्रै यहाँका क्रियाशिल पत्रकारहरुलाई मास्क वितरण गर्नुका साथै संक्रमणको जोखिममा रहेका पत्रकारहरुको पीसीआर परीक्षणका लागि पहलसमेत गरेको थियो ।

लुम्बिनी प्रदेशमा हालसम्म ३८ जना पत्रकार कोरोना संक्रमित भएका छन् । उनीहरूमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना, बाँकेमा १२, दाङमा ४, बर्दियामा ४, पाल्पामा २ तथा कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना पत्रकार संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकाहरुमध्ये दुई जना अस्पतालमा भर्ना भएर उपचाररत छन् भने बाँकी पत्रकार होम आइसोलेसनमै बसेको प्रदेश समितिले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार २०:१४