सूचनाको शक्ति - The Power Of Information

        

समाचार

गण्डकीमा तीन दिनभित्रै नयाँ सरकार

तीन सांसद रहेको राष्ट्रिय जनमोर्चा सरकार गठनमा निर्णायक

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भर्खरै पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरेकी छन् । गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

यस समयसम्मका लाथि वर्तमान सरकार कामचलाउ सरकार हुनेछ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी प्रेस विज्ञप्तीमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख गरिएको छ ।

कसको नेतृत्वमा बन्ला नयाँ सरकार ?

गण्डकीमा नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५ र नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद छन् । नयाँ सरकार गठन गर्न विश्वासको मत लिनुपर्छ । त्यसका लागि कम्तीमा ३१ सांसद आवश्यक पर्छन् ।

गत वैशाख २ गते काँग्रेसका १४, माओवादीका ११ र जसपाका तीनजना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थिए । राजमोले पनि अविश्वासको प्रस्तावकै पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

तर, राजमोका संसदीय दलका नेता कृष्ण थापा भने गुरुङ सरकारप्रति सकारात्मक थिए । उनी पार्टीको निर्णयप्रति सन्तुष्ट थिएनन् । गत वैशाख १५ गते अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर, राजमोका सांसद खिम विक्रम शाही संसद बैठकमा अनुपस्थित भएपछि सभामुखले बैठक अनिश्चित कालका लागि वन्द गरिदिएको थिए

राजमो जता उसकै नेतृत्वको सरकार

तीन सांसद रहेको गण्डकी प्रदेशमा जनमोर्चाले जुन पक्षलाई साथ दिन्छ, अब सोही पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित छ । राजमोले एमालेलाई साथ दिएमा एमालेका २७, एक स्वतन्त्र र राजकोका तीन गरी ३१ पुग्छ ।

यो गण्डकीमा नयाँ सरकार गठनका लागि पर्याप्त संख्या हो । यद्यपी गण्डकीमा एमाले इतरको सरकार बन्ने सम्भावना बलियो देखिएको छ । काँग्रेसका १५, माओवादीका १२, जसपाका दुई सांसद मुख्यमन्त्री गुरुङ सरकार ढाल्न कसरत गरिरहेका थिए । अब यो पक्षलाई राजमोले साथ दिएमा जम्मा ३२ पुग्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार १९:१५