बाँके । कोरोना महामारी तीब्ररुपमा बढिरहेको छ । बाँके जिल्ला ‘कोरोना हटस्पट’ बनेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन बिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै केहिदिन पहिलेदेखि अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर गर्न गएका एक जनाको दुई दिनअघि पालो कुर्दाकुर्दै ज्यान गयो ।
अस्पतालमा अक्सिजन तथा बेड अभावपछि मानिसले कतिबेला बेड खाली होला र बाँचिएला भनेर मृत्युसँग पौठेजोरी खेलिरहेका छन् । कोरानाले बाँकेको अवस्था दर्दनाक बनेको छ । यहाँ न प्रदेश सरकारको उपस्थिति छ, न त संघीय सरकारको उपस्थिति नै देखिन्छ । संघीय सरकारका प्रधानमन्त्री कोरोना नियन्त्रणमै रहेको झुठ बताइरहेकै बेला उनकै ‘चेला’ लुम्बिनी प्रदेशका मुल्यमन्त्रीले प्रदेशका नागरिकहरुमाथि भ्रमको खेति गरिरहेका छन् ।
‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो । दाङका लागि २०० भन्दा बढि अक्सिजन सिलिण्डर आज आउँदैछ । रुपन्देहीको पनि समाधान हुँदैछ ।’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान पौने ९ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा उक्त स्टाटस पोष्ट गरे । मुख्यमन्त्री पोखरेलले पोष्ट गरेको स्टाटसमा यो समाचार तयार पार्दासम्म झण्डै ५०० ले लाइक र कमेन्टमार्फत मुख्यमन्त्री पोखरेलको तारिफ गर्दै खुसी ब्यक्त गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले लेखेको स्टाटसले बाँकेका लुम्बिनी प्रदेशका कोरोना संक्रमित बिरामी, उपचारमा खटिएका चिकित्सक र अस्पताल ब्यवस्थापन समितिलाई भने अप्ठ्यारोमा पारेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा.दिनेश श्रेष्ठले लुम्बिनी प्रदेशका मुल्यमन्त्रीले फेसबुकमा लेखेजस्तो कोहलपुरमा अक्सिजन लिक्विड नआएको प्रष्ट पारेका छन् ।
यसले मुख्यमन्त्रीजस्तो जिम्मेवार व्यक्ति भ्रमित र अफवाह फैलाउन उद्धत रहेको प्रष्ट हुन्छ । मुख्यमन्त्रीले अक्सिजन लिक्विड आयो भनि सामाजिक सञ्जालमा उल्लेख गरेकाले भ्रम सृजना भएको बताउँदै डा.श्रेष्ठले भने, ‘अहिलेसम्म हामीकहाँ अक्सिजन लिक्विड आइपुगेको छैन, सायद भोलीसम्ममा लिक्विड आइपुग्छ होला ।’ कोभिड फोकल पर्सन डा.श्रेष्ठले मुख्यमन्त्रीको स्टाटसका कारण आफुहरु समस्यामा परेको पनि बताएका छन् ।
कोरोना संक्रमितका आफन्त तथा अन्य निकायबाट समेत अक्सिजन लिक्विड आइपुगेको भन्दै थप बिरामी भर्नाका लागि दवाव दिन सुरु गरिएको कोभिड फोकल पर्सन डा.श्रेष्ठले बताए । लिक्विडको अभावमा अस्पतालले कोरोनाका थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको समेत डा.श्रेष्ठले प्रष्ट पारे । ‘बीरगन्ज नाका हुँदै ल्याउन लागिएको लिक्विड बुटवलसम्म आइपुगेको खबर पाएका छौं,’ डा.श्रेष्ठले भने, ‘प्राविधिक समस्या नआए भोलीसम्म कोहलपुरमा आइपुग्छ ।’
मुख्यमन्त्री कार्यालयबाट नजिकैको लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पताल नेपालगन्जमा संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको बेला मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा भ्रम फैलाउन थालेपछि अहिले तीब्र आलोचना भइरहेको छ । लुम्बिनी प्रदेशका नागरिकहरुले देश नै महामारीले आक्रान्त बनिरहेका बेला मुख्यमन्त्री पोखरेलबाट गैरजिम्मेवार र तल्लोस्तरको अपेक्षा नगरेको भन्दै आलोचना गरेका छन् ।
।