सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरी अस्पतालमा लाशको ताँती, मुख्यमन्त्रीको ध्यान फेसबुकतिर

बाँके । कोरोनाको हटस्पट बन्दै गरेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको तीब्र आलोचना भइरहेको छ । मुख्यमन्त्री कार्यालयबाट नजिकैको लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पताल नेपालगन्जमा संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको बेला मुख्यमन्त्री पोखरेल सामाजिक सञ्जालमा ब्यस्त छन् ।

मुख्यमन्त्री पोखरेलको ध्यान कोरोना संक्रमण नियन्त्रणमा भन्दा फेसबुकमा केन्द्रीत छ । राजनीतिक स्टाटस लेख्नेबाहेकको काम नगरेको भन्दै उनको आलोचना भइरहेको छ । पोखरेलले राष्ट्रिय राजनीतिमा को राम्रो, को नराम्रो भनेर टिप्पणी गरेपछि महामारीमा जनता भकाभक ढलिरहेको बेला मुख्यमन्त्री पोखरेलबाट त्यस्तो अपेक्षा नगरेको जनगुनासोले सामाजिक सञ्जाल भरिएको छ ।

कोरोना महामारीका बेला मुख्यमन्त्री फेसबुकतिर केन्द्रीत छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको शव लाइन लागेको बेला मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा माधवकुमार नेपाल, रामबहादुर थापा र खिमलाल देवकोटालाई तुलना गरेर सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन् । त्यसमा कमेन्ट गर्दै शिव डुम्रेले लेखेका छन्, ‘ रोक्नुस्, बन्द गर्नुस् । भोट माग्ने समय हैन, मान्छे एम्बुलेन्समै मरिरहेछन् ।’

सोही सन्दर्भमा गौतम भुसालले अस्पतालमा अक्सिजन तथा बेड अभावपछि मानिसले कतिबेला बेड खाली होला र बाँचिएला भन्ने समयमा प्रदेशको अविभावकजस्तो मान्छेले त्यस्तो स्टाटस लेख्नु अनुचित भएको उल्लेख गरेका छन् । कोरोना महामारी बढिरहेको समय नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर गर्न गएका एक जनाको पालो कुर्दाकुर्दै ज्यान गएको थियो ।

लाइनमा बसेको बेला ढलेका उनको शवलाई कालो प्लास्टिकमा बेरेर परिवारले अटो रिक्सामा घर लिएर गएका थिए । यस्तो अवस्थामा मुख्यमन्त्रीको ध्यान फेसबुकमा केन्द्रीत रहेको भन्दै उनको स्टाटसमा चर्को आलोचना भइरहेको छ । मनहरी तिमिल्सिना लेख्छन्, ‘बुद्धभूमिमा दानव नृत्य चाहिँ कोसँग तुलना गर्ने होला ?’ त्यस्तै उमेश कुँवरले लेखेका छन्, यो बेला तपाईको यस्तो स्टाटसले हामी एमाले हौं भन्न पनि लाज लागिरहेको छ ।’

त्यस्तै प्रकाश बेल्वासेले मुख्यमन्त्री पोखरेलको स्टाटसमा कमेन्ट गर्दै चर्को आलोचना गरेका छन् । उनले कमेन्टमा लेखेका छन्, ‘तिम्रो प्रदेशमा अक्सिजन नपाएर जनताको मृत्यु भइरहेको छ, तिमी सधैं सत्ताको मोहमा दाउपेचमा अलमल परेर बस्ने गर । घिन लाग्न लाग्यो यो तिम्रो राजनीति देखेर, अब त अति भयो केही समयलाई यो घिन लाग्ने राजनीति छोडेर जनताको सेवामा लाग्नुस्, हैन भने अर्को चुनावमा जनताले यसको हिसाब राम्रोसँग राख्ने छन् ।’

विजय रेग्मी र दिपक अनुरागीले पनि मुख्यमन्त्रीको स्टाटसमा चर्को आलोचना गरेका छन् । रेग्मीले तपाई अझै कुर्सी र पार्टी केन्द्रित हुनुहुन्छ है मुख्यमन्त्री ज्यु, प्रदेशमा जनता अक्सिजन नपाएर छट्पटाउँदै छन् भनेर लेखेका छन् भने अनुरागीले जनताले अक्सिजन नपाएर छट्पटिरहेका छन्, अस्पतालले बिन्ती बिसाउँदै अक्सिजन मागेको मागै छन् । यी अबैध मुख्यमन्त्रीले त्यता ध्यान दिदैनन्, उनको चिन्ता बादलको छ भन्दै कडा आलोचना गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार ०९:०५