सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

संक्रमितको ग्राफ बढेसँगै भेरी अस्पतालमा अक्सिजन खपत उच्च

अक्सिजन नपाउँदा बाँकेका कोभिड अस्पतालको क्षमता विस्तारमा पूर्णविराम

बाँके । बाँकेमा कोरोना संक्रमितको ग्राफ तीव्ररुपमा बढिरहेको छ । बढ्दो कोरोना संक्रमणका कारण अक्सिजनको खपत बढेको छ । सर्तकताका लागि सर्वसाधारणले अक्सिजन सिलिण्डर आवश्यकभन्दा धेरै ‘होल्ड’ गर्दा बजारमा कमी हुन थालेको हो । कोरोना संक्रमणले अवस्था गम्भीर हुन थालेकाको शरीरमा अक्सिजनको मात्रा घट्छ, त्यस्तो बेला अनिवार्यरुपमा अतिरिक्त अक्सिजन दिनुपर्छ ।

पछिल्लो समय कोभिड संक्रमितहरु होम आइसोलेसनमा बस्न थालेपछि अक्सिजन स्टक राख्ने र खपत पनि बढ्न थाल्दा बजारमा अभाव हुन थालेको उद्योगीहरुले बताएका छन् । उद्योगहरूले साइज अनुसारका सिलिण्डर बजारमा पठाउँछन् । १०, २० र ४७ लिटरका अक्सिजन सिलिण्डर सर्वसाधारणले धरौटी राखेर प्रयोग पाउँछन् । यीमध्ये सबैभन्दा धेरै१० लिटरको अक्सिजन सिलिण्डर प्रयोग हुँदै आएको छ ।

प्रयोगभन्दा बढी खाँचो पर्दा चलाउने भन्दै लैजाने बढ्दा हाल १० लिटरको सिलिण्डर कम मात्रामा पाइन थालेको छ । अस्पतालहरूले पनि १० लिटरकै सिलिण्डर बढी चलाउने गरेका छन् । होम आइसोलेसन र अस्पतालहरुमा सिलिण्डर स्टक राख्न थालेपछि खाली बजारमा सिलिण्डरको अभाव हुन थालेको पश्चिम नेपालकै ठूलो अक्सिजन उद्योग एचओ अक्सिजन इन्डष्ट्रिजले जनाएको छ ।

यतिबेला कोभिड अस्पताल र होम आइसोलेसनमा अक्सिजनको माग बढ्न थालेको छ । अक्सिजनको अभाव छैन तर भरेर पठाउन खाली सिलिण्डर पर्याप्त मात्रामा फर्केर नआउने समस्या देखिएको पनि एचओ अक्सिजन इन्डष्ट्रिजले जनाएको छ । अस्पतालमा संक्रमितको संङख्या बढ्न थालेपछि पहिलेभन्दा दोब्बर सिलिण्डर राख्न थालेका छन् । यसले गर्दा सिलिण्डर फिर्ता हुन समय लाग्छ ।

समयमै सिलिण्डर आए बजारमा ग्यासको अभाव एचओ अक्सिजन इन्डष्ट्रिजको भनाइ छ । होम आइसोलेसनले पनि १० लिटर सिलिण्डरको प्रयोग धेरै हुन थालेको हो । पहिलेभन्दा १० देखि १५ प्रतिशत माग बढेको छ । एकै व्यक्तिले ३ वटाभन्दा बढी सिलिण्डर ‘होल्ड’ राख्न थालेका छन् । कोभिड लामो समयसम्म जाने अनुमान गरेर थप सिलिण्डर मगाएर ‘होल्ड’ गर्न थालेपछि बजारमा अभाव देखिएको छ ।

कोभिड–१९ को दोश्रो लहरसँगै भेरी अस्पतालमा अभूतपूर्व रुपमा अक्सिजनको खपत बढेको जनाइएको छ । अस्पतालका अनुसार एक महिनाअघि ८० सिलिन्डरको खपत रहेकोमा अहिले माग क्रमशः बढेर प्रतिदिन ४०५ अक्सिजन सिलिन्डरसम्म आपूर्ति भइरहेको छ । गत १० दिनको औसत हेर्दा यो माग ३५० को हाराहारीमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

‘यतिबेला कोभिड अस्पतालमा अक्सिजनको माग बढी भइरहेको छ,’ मेसु डा.थापाले भने, ‘पहिले दैनिक ८०–१०० सिलिण्डर खपत हुने गरेकोमा अहिले दैनिक ४०० बढी सिलिण्डर खपत हुँदैछ ।’ कोभिड–१९ पछि अक्सिजनको माग पाँच गुणाले बढेको उनले जानकारी दिए । अक्सिजन उत्पादक उद्योग एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिले अक्सिजन उत्पादन निकै राम्रो भइरहेको पनि जनाएको छ ।

उद्योगका अनुसार अहिले अभाव नरहेको र अभाव हुने सम्भावनासमेत तत्काल नरहेको जनाएको छ । तर, सिलिण्डर भने अभाव हुनसक्ने उद्योगको दावी छ । अक्सिजन अभाव भएको हल्लाले सर्वसाधारणले आत्तिएर सिलिण्डर ‘होल्ड’ गर्न थालेपछि समस्या हुनसक्ने एचओ अक्सिजन इन्डष्ट्रिजले जनाएको छ । सिलिण्डर कुनै एक व्यक्तिले होल्ड गर्नुभन्दा पनि रोटेशन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

यता, बाँकेमा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव भएपछि क्षमता विस्तारमा पूर्णविराम लागेको छ । अक्सिजन नपाएपछि ३०० शैय्याको कोभिड अस्पताल बनाउने योजना तुहिएको छ । अक्सिजन अभावका कारण शिक्षण अस्पतालले १०० बेडको मात्र कोभिड अस्पताल सञ्चालनमा ल्याएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोभिड इन्चार्ज डा.दिनेश श्रेष्ठले जनाएका छन् ।

‘कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदै गएपछि शिक्षण अस्पताल कोहलपुरलाई कोभिड र शिक्षण अस्पताल नेपालगन्जलाई ननकोभिड अस्पताल बनाउने तयारी थियो,’ उनले भने, ‘तर, अक्सिजन अभावमा योजना तुहियो ।’ १०० बेडको कोभिड अस्पतालमा दैनिक १२० सिलिन्डर अक्सिजन खपत हुने गरेको डा.श्रेष्ठले बताए । ‘३०० बेड कोभिड अस्पताल सञ्चालन गर्न ३५० सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ उनले भने, ‘जुन हामीसँग उपलब्ध हुन सकेन ।’

लिक्विड अक्सिजन पनि सीमित मात्रामा भएको उनले बताए । लिक्विड अक्सिजन भारतबाट आयात हुँदै आएको छ । भारतमै संक्रमित बढेपछि भारतले अक्सिजन पठाउन बन्द गरेको उनले बताए । ‘लिक्विड अक्सिजन भारतबाट ल्याउन सक्ने अवस्था छैन । हामीसँग भएको लिक्विड अक्सिजन पनि बढीमा दुई साता टिक्ला । त्यसपछि झन् समस्या आउन सक्छ,’ उनले भने, ‘सरकारले अक्सिजनको व्यवस्था गरे कोभिडका बिरामीलाई हामी सेवा दिन तयार छौँ ।’

बाँकेमा दुईवटा अक्सिजन प्लान्ट छ । यहाँका प्लान्टको दैनिक एक हजार ५०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । बाँकेमा उत्पादन भएको अक्सिजन कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु तथा लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याउँदै आएका छन् । भेरी अस्पतालमा मात्र दैनिक ५०० सिलिन्डर अक्सिजन माग रहेको अक्सिजन उद्योगले जनाएको छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार ०८:१७