सूचनाको शक्ति - The Power Of Information

        

धार्मिक मान्यता

दोलखाको भीमेश्वर शिलामा ‘पसिना’, देशमा संकट आउने जनविश्वास

दोलखा । दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

डेढ घण्टासम्म मन्दिरको शिलामा निरन्तर ‘पसिना’ आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए । भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यसअघि २०७६ फागुन ८ गते पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी सुरु भएको विश्वास गरिन्छ ।

अहिले शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको श्रेष्ठले बताए । दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

उपाध्यक्ष श्रेष्ठले आइतबार राष्ट्रपति कार्यालयमा महाप्रसाद पठाइने बताए । त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने उनले बताए । राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पूजाका लागि पञ्चबली पठाउने चलन रहेको थियो ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका थिए । उनीहरुले मन्दिरमा क्षमा पूजाको तयारी गरिरहेको एक प्रहरी अधिकारीले बताए ।

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो । शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १६:४२