दाङ (शीतलपुर) । काठ बैंक अभियान सुरु गरेका पत्रकार देवीराम कुसारीले अभियानलाई आज (शनिवार) देखि संस्थागत गरेका छन् । कोरोना महामारीबाट मृत्यु भएकाहरुको शब दाहसंस्कारमा दाउराको अभाव, घाटको समस्यालाई मुखदर्शक भएर हेर्न नसक्ने भन्दै बैसाख २० गतेबाट पत्रकार कुसारीले काठ बैंक अभियान थालेका थिए ।
अभियान थालेको पाँच दिनमै अभियानको राम्रो प्रभाव देखिएपछि यो अभियानलाई दिर्घकालिन बनाउन पत्रकार कुसारीकै पहलमा संस्थागत गरिएको हो । पत्रकार कुसारीले अन्य अभियन्ता तथा समाजका जानकारहरुसँगको सल्लाहमा तुलसीपुर उपमहानगपालिका–१२ शीतलपुरमा काठ बैंक तथा घाट व्यवस्थापन समिति गठन गरेको जानकारी दिए ।
स्थानीय समाजसेवी तथा शिक्षक चिन्ताबहादुर गिरीको अध्यक्षतामा सम्पन्न भेलाले अभियन्ता देवीराम कुसारीकै अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अभियन्ता जीवन गिरी, कोषाध्यक्षमा युवा व्यवसायी हरिप्रसाद बुढाथोकी, सचिवमा सञ्चारकर्मी हेमराज डाँगी, सहसचिवमा युवा सुशील गिरी रहेका छन् ।
व्यवस्थापन समितिको बरिष्ठ सदस्यमा युवा व्यवसायी खगेन्द्र अधिकारी रहेका छन् भने सदस्यमा भीमबहादुर भण्डारी, दिपक डाँगी, पुर्णबहादुर डाँगी, आत्माराम घिमिरे, पुर्ण केसी लगायत रहेका छन् । भेलाले तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष श्याम डाँगीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।
सल्लाहकार समितिको सदस्यमा वडा नं. ११ का वडाध्यक्ष चित्रबहादुर वली, १३ का कार्यवाहक वडाध्यक्ष विनोद पाण्डे, समाजसेवी शिक्षक चिन्ताबहादुर गिरी र पुष्पराज गिरी रहेका छन् । समितिको कामलाई पारदर्शी बनाउनको लागि समितिका अध्यक्ष देवीराम कुसारी, कोषाध्यक्ष हरिप्रसाद बुढाथोकी र सचिव हेमराज डाँगीको नाममा सिभिल बैंकको उरहरी शाखामा खाता सञ्चालन गर्ने निर्णय भएको कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए ।
ठाउँठाउँमा कोरोनाबाट मृत्यु भएकाको शब जलाउन नदिने समस्या आफुले सुनेको हुँदा त्यस्तो समस्या नआओस् भनेर यस अभियानलाई संस्थागत गरेको सल्लाहकार चिन्ताबहादुर गिरीले जानकारी दिए । अभियान संस्थागत भएपछि यो समितिले कोभिड महामारीभन्दा पछि पनि निरन्तर काठ तथा घाट व्यवस्थापनमा काम गर्ने समितिका सचिव हेमराज डाँगीले जानकारी दिए ।
हालसम्म यो अभियानलाई मानवीय सहायता नेपालले संस्थागत सहयोग गर्दै आएको छ । संस्थाले अभियानलाई १५ हजार बराबरको काठ उपलब्ध गराएको छ । आवश्यक परे अझै सहयोग गर्ने संस्थाका अध्यक्ष बसन्त पोख्रेलले जानकारी दिए । अभियानलाई अन्य संघसंस्थाले पनि सहयोग गरिरहेको अभियन्ता कुसारीले सत्यपाटीलाई जानकारी दिए ।
जसअनुसार आनन्दवाक सामुदायिक वन उपभोक्ता समिति शितलपुरले ७ टेक्टर दाउरा, खगेन्द्र अधिकारीले १, हरिप्रसाद बुढाथोकीले १, तुलसीपुर १२ का वडाध्यक्ष मानबहादुर केसीले १ टेक्टर गरी १३ टेक्टर जम्मा भएको छ । यसरी जम्मा भएको काठबाट हालसम्म ११ वटा शवको दाह संस्कार गरिएको पनि अभियन्ता कुसारीले जानकारी दिए ।
खासगरी काठ जम्माको उद्देश्यले थालिएको अभियानमा भौतिक दुरी र महामारीका कारणले गर्दा कतिपय सहयोगीले आर्थिक सहयोगको गरेका छन् । यसरी सहयोग गर्नेमा तुलसीपुरका पुराना पत्रकार एंव व्यवसायी पुर्णचन्द्र धितालले २५ सय, घोराहीका एक जना (नाम सार्वजनिक नगर्ने पत्रकार)ले २५ सय र तलसीपुर घर भएका एक जना सुरक्षकर्मी (नाम सार्वजनिक नगर्ने)ले २ हजार १० आर्थिक सहयोग गरेका छन् ।
त्यस्तै अभियानलाई तुलसीपुर १ भमके घर भाई हाल महालेखा परिक्षकको कार्यालयमा कार्यरत जानका भण्डारीले २ हजार ८ रुपैयाँ अभियानलाई प्रदान गरेका छन् । त्यसैगरी तुलसीपुर ६ का विष्णु दाहालले १५ सय, दंगीशरण–४ हाल सबैको लघुवित्त वित्तिय संस्था बर्दीयामा कार्यरत सृजन शर्माले १ हजार नगद अभियानलाई सहयोग गरेका छन् । उनीहरुले सहयोग गरेको रकमलाई काठ खरिद तथा घाट सरसफाइमा प्रयोजन गर्ने जनाइएको छ ।
।