सूचनाको शक्ति - The Power Of Information

        

जनमुखी स्थानीय सरकार

वाह ! नेपालगन्जका जनप्रतिनिधि : अक्सिजन सिलिण्डर खोज्दै ‘मेयर धवल’

उपमेयर उमा थापा मगर हरेक दिन आइसोलेसन सेन्टरहरूको व्यवस्थापनमा खटिन्छिन् ।

बाँके । जिल्लामा कोरोनाको संक्रमणको दर दिनप्रतिदिन बढिरहेको छ । गम्भीर खालका संक्रमितको संख्या बढेपछि संक्रमितको मृत्युदर पनि ह्वात्तै बढेको छ । संक्रमिति बढेपछि अस्पतालहरुलाई बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालले संक्रमितको चाप थेग्न नसकेपछि अक्सिजन र बेडको अभाव हुन थालेको छ ।

बाँके जिल्ला कोरोना संक्रमणबाट गुज्रिएको करिब एक महिना भयो । नेपालगन्जदेखि बाँकेका गाउँगाउँ बस्ती, टोल र घरघरमा कोरोना संक्रमण फैलिएको छ । दर्जनौं विरामी अस्पतालमा छटपटाएका छन् । कतिपयले ज्यान गुमाइसकेका छन् । कतिपय होम आइसोलेशनमा उपचार र परामर्श अभावमै बसिरहेका छन् । प्रदेशदेखि संघीय सरकार उदासीन छ ।

८० प्रतिशत संक्रिय संक्रमितहरु हाल होमआइसोलेसनमै बसेका छन् । रहरले नभई बाध्यताले होम आइसोलेसनमा बसेका उनीहरु गम्भीर विरामी भएपछि मात्रै अस्पताल जान्छन् । अस्पतालमा बेड नपाउँदा उनीहरु घरमै बस्नुपर्ने बाध्यात्मक अवस्था छ । संक्रमितहरु घरमै अक्सिजन सिलिण्डरको जोहो गरेर बसिरहेका छन् ।

संक्रमितहरु घरमा बस्दा बालबच्चा र जेष्ठ नागरिकलाई पनि संक्रमणको जोखिम उच्च छ । आइसोलेसन नहुँदा परिवार नै संक्रमित हुनुपर्ने अवस्था छ । तर जोखिम छ भन्ने जान्दाजान्दै पनि घरमै बस्नुपर्ने बाध्यात्मक अवस्था छ । गत बर्षजस्तो यस बर्ष कोरोना संक्रमण खत्तरापूर्ण भएपछि प्रायः होटेलहरुले संक्रमित राख्न मान्दैनन् ।

अस्पतालको अवस्था पनि उस्तै छ । कोभिड अस्पतालमा पुगेकाहरुले पनि सहज उपचार पाउने अवस्था छैन । अस्पतालमा पनि संक्रमितको उपचारका लागि बेडसँगै अत्यावश्यक मानिने अक्सिजन अभाव छ । अस्पताल पुगेका प्रायः सबैलाई अक्सिजन दिनुपर्ने अवस्था छ । तर यहाँका अस्पतालहरुमा पर्याप्त बेड, अक्सिजन र सिलिण्डर छैनन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेको छ । भारतमा अक्सिजन अभावको समाचार आइरहँदा नेपालमा पनि सिलिण्डर ‘होल्ड’ गर्न थालिएको छ । भेरी अस्पतालमा कार्यरत चिकित्सकका अनुसार केही दिनयता नेपालगन्जमा धेरैले सिलिण्डर होल्ड गरेका छन् । अक्सिजन अभाव हुनसक्ने त्रासले सिलिण्डर होल्ड भएको हो ।

तर व्यवसायीहरुले भने अक्सिजन पर्याप्त रहेको बताउँछन् । पश्चिम नेपालकै ठूलो एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिले अक्सिजन उत्पादन निकै राम्रो भइरहेको जनाएको छ । उद्योगका अनुसार अहिले अभाव नरहेको र अभाव हुने सम्भावनासमेत तत्काल नरहेको जनाएको छ । तर, सिलिण्डर भने अभाव हुनसक्ने उद्योगको दावी छ ।

भारतका केही ठाउँहरुमा अभाव भयो भन्ने समाचारले यहाँ पनि आत्तिएर सिलिण्डर होल्ड गर्न थालिएको छ । तर यहाँ अभाव भएको छैन, सिलिण्डर पर्याप्त नहुँदा र सिलिण्डर होल्ड गर्दा भने समस्या हुनसक्ने उद्योगले जनाएको छ । सिलिण्डर कुनै एक व्यक्तिले होल्ड गर्नुभन्दा पनि रोटेशन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

बाँकेमा चिकित्सक अभाव भनिएको बेला नेपालगन्ज उपमहानगरपालिकाले तत्काल अस्थायी चिकित्सकसहितका स्वास्थ्यकर्मी भर्ना गरेर भेरी अस्पतालमा पठाएको थियो । उपमहानगरले पछिल्लो समयमा आइसोलेसन बनाउनेदेखि विरामीका लागि अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने र स्वास्थ्यकर्मीको व्यवस्थापनमा समेत अग्रपंक्तिमा देखिएको छ ।

बिशेषगरी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणा, उपमेयर उमा थापा मगर, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना पोकल पर्सन तेज वली, जागेश्वर बस्तेन लगायत यतिबेला कोरोना रोकथाम तथा विरामीको प्रभावकारी सेवा लागि जीउ ज्यान लगाएर काम गरिरहेका छन् ।

उपमेयर उमा थापा मगर हरेक दिन आइसोलेसन सेन्टरहरूको व्यवस्थापनमा खटिँदै आएकी छन् । मेयर डा.राणा आइसोलेसन सेन्टरमा मात्र होइन प्रत्यक्ष विरामीको निगरानीका साथै यतिबेला कृत्रिम अभाव देखाइएको अक्सिजन सिलिण्डरको खोजीमा नेपालगन्जका टोलटोलमा आफैं भौतारिरहेका छन् । उपमहनगरले विरामी बोक्नका लागि आफ्ना सवारी साधन समेत प्रयोगमा ल्याएको छ ।

यसले विरामीलाई ओसारपोसारमा सहज भएको नेपालगन्जबासीहरु बताउँछन् । यतिबेला नेपालगन्जबाट भारतका साथै बाहिर जिल्लामा अक्सिजन तस्करी भइरहेका समाचारहरु आइरहेका छन् । तर, बाँकेमा अभाव देखाइएको छ । नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जमा मेयर डा.राणा गाउँबस्तीमा अक्सिजनका सिलिण्डरको खोजीमा आफैं लागिरहेका छन् ।

अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नेपालगन्जका मेयर राणाले औद्योगिक क्षेत्रमा राखिएका सिलिन्डर आफैं ल्याएर रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेसनमा बुझाएका छन् । नेपालगन्ज उपमहानगरले हालसम्म तीनवटा आइसोलेसन निर्माण गरिसकेको छ । जसका कारण गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज भएको छ । जहाँ तीन दर्जनबढी विरामीले अहिले उपचार लिइरहेका उपमेयर थापा बताउँछिन् ।

यता बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत भने जनताको हितविपरित काम गर्दै बदनाम कमाइरहेका छन् । उनले विरामीलाई एम्बुलेन्स नभएको पालिकामा दर्जन बढी लाखौं मुल्यका गाडीमात्रै खरिद गरेनन्, नगरपालिकामा चाहिनेभन्दा बढी एसी जडान गरेर आलोचितसमेत भएका छन् । एकपछि अर्को विवादमा तानिएका मेयर रावतले नेपालगन्ज र यहाँका मेयरबाट धेरै कुरा सिक्न आवश्यक रहेको कोहलपुरबासी बताउँछन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १४:२७