सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप पाँच जना संक्रमितको मृत्यु

फाइल तस्वीर

बाँके । बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।

यस्तै नेपालगन्ज–१० की ३८ वर्षकै अर्की महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे चार बजे मृत्यु भएको छ । यस्तै नेपालगन्ज–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी ८ बजे र नेपालगन्ज–१२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४ पुगेको छ । बाँकेभन्दा बाहिर जिल्लाका तर बाँकेमा ज्यान गुमाउनेको संख्या भने १३१ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ११:२५