सूचनाको शक्ति - The Power Of Information

        

नेविसंघले भन्यो, ‘महामारीमा सरकार कमिसन र कालोबजारीमा मस्त’

काठमाडौं । नेपाल विद्यार्थी संघले स्वास्थ्यजस्तो अत्यन्त संवेदनशील विषयमा सरकार कमिसनको चक्करमा फस्नु खेदजनक भएको जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य सामाग्री खरिद र खोपमा समेत सरकार आफैं व्यापार र कमिसनको चक्करमा फसेर दुनियाँ हँसाउनु अत्यन्तै लज्जाजनक रहेको बताए ।

’कमिशन नमिलेकै कारण प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायीहरु र स्वास्थ्य मन्त्रीसमेतको हर्कत देखिएको छ,’ एक विज्ञप्ति जारी गर्दै तिमल्सिनाले भनेका छन्, ’प्रधानमन्त्री निकट व्यापारीहरु बिजय दुगड, सुरज बैद्री, रिता बैद्यलगायतले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको खबरले सबैलाई लज्जित बनाएको छ ।’

वर्तमान सरकरको स्वास्थ्य सामाग्री खरिदमा भएको करोडौं रुपैयाँको चलखेल अक्षम्य रहेको बताउदैं उनले अत्यावश्यक खोपमा पनि सरकार आफ्ना माफिया एजेन्टमार्फत कमिसन लिएर व्यापार गर्न निर्लज्जपन भएको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीकै छत्रछायाँमा रहेका ब्यवसायीहरुले जनस्वास्थ्य माथिको यति ठूलो अपराध र बेइमानी केबल प्रधानमन्त्रीकै आड र भरोसामा मात्र संभव भएको तिमल्सिनाको आरोप छ ।

उनले स्वास्थ्य सामाग्री खरिद र खोपमामा भएको भ्रष्टाचारको नैतिक जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने तर्क गरे । उनले महामारीले पिल्सिएका नागरिकमाथि हेलकप्टर कम्पनीदेखि बस सेवाले चर्को भाडा तोकेर लुट्न खोजेको बताए । ‘हेलिकोप्टर कम्पनीले ठुलो अत्याचार गरेको छ । आफैँले तोकेको भाडाभन्दा निर्बाध रुपले दुई–तीन लाख बढी असुली गरिरहँदा सरकारी मौनता रहस्यमय छ,’ उनले भनेका छन् ।

उनले जनतालाई महामारीबाट ज्यान जोगाउनै मुस्किल भएको छ तर यस्तो बेला पनि हेलिकोप्टर कम्पनीहरूले सर्वसाधारणको ढाड सेकिरहेका आरोप लगाउँदै भने, ‘यस्तो खुलमखुल्ला कालोबजारी व्याप्त रहँदा सरकारले के हेरिरहेको छ ?’ सिटी बसले दुई रुपैयाँ भाडा असुली गर्दा स्वाभाविक कारबाहीमा उत्रिने सरकार हेलिकोप्टर कम्पनी आफैँले तोकेभन्दा दुई–तीन लाख बढी भाडा असुल्दा मूकदर्शक बन्नुले सरकारी संलग्नता र संरक्षण पुष्टी गरेको उनको आरोप थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १०:५२