सूचनाको शक्ति - The Power Of Information

        

सल्यान अस्पताल दुई वर्षदेखि एम्बुलेन्सविहीन

सल्यान । जिल्ला अस्पताल सल्यानको एम्बुलेन्स मर्मत नहुँदा दुई वर्षदेखि अस्पताल परिसरमै थन्किएको छ । जसका कारण अस्पताल एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स नहुँदा बिरामीहरुले सास्ती भोग्दै आइरहेका छन् । स्वास्थ्य कार्यालयका व्यवस्थापक दशरथ श्रेष्ठले भने पुरानो एम्बुलेन्स मर्मत गर्ने रकमले नयाँ एम्बुलेन्स आउने बताउँछन् ।

तर, आर्थिक अभावले एम्बुलेन्स खरिद गर्न नसकिएको उनको भनाइ छ । ‘हामीसँग न पुरानो एम्बुलेन्स मर्मत गर्ने पैसा नै छ न नयाँ नै किन्ने,’ श्रेष्ठले भने, ‘प्रदेश सरकारलाई एम्बेन्सको व्यवस्था गरिदिन आग्रह गरेका छौं ।’ अस्पताललको आफ्नै एम्बुलेन्स नहुँदा स्थानीय तहहरुसँग समन्वय गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ ।

उनले कोरोना संक्रमण दर बढ्दै जाँदा थप समस्या भइरहेको बताए । संक्रमितहरुलाई रिफर गरेर पठाउन स्थानीय तहहरुसँग समन्वय गर्नुपरेको बताए । जिल्ला अस्पताल सल्यानमा एम्बुलेन्स नभएपछि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहहरुमा रहेका एम्बुलेन्सलाई बारअनुसार अस्पतालमा उपलब्ध गराउँदै आइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी बताइन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०८:५९