सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

दूध बिक्री घट्यो, किसान मर्कामा

फाइल तस्वीर

बाँके । कोरोना सङ्क्रमणका कारण गत दुई सातादेखि लगाइएको निषेधाज्ञाले गर्दा बाँकेमा दूध बिक्री आधाभन्दा बढी घट्दा अधिकांश किसान मर्कामा परेका छन् । नेपालगन्ज लगायत कोहलपुर, राँझा र खजुरामा रहेका दूध डेरीले किसानले उत्पादन गरेको दूधलाई खरिद गर्न बन्द गरेपछि दूध बिक्री हुन नसक्दा किसान समस्या परेको उनीहरूले बताएका छन् ।

दूध बिक्री नहुँदा आम्दानी घटेपछि किसानलाई पालेको गाई, भैँसीलाई खुवाउने दाना किन्न पनि मुस्किल पर्न थालेको गुनासो दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए । निषेधाज्ञा लगाइएपछि बजारमा दूध तथा दुग्ध पदार्थको बिक्री धेरै घटेकाले किसानसँग दूध व्यवसायीले खरिद गर्न नसकेको उनले बताए ।

सहरी क्षेत्रमा अहिले ५० प्रतिशतभन्दा बढी दूधको बिक्री घटेकाले व्यवसायीले दूध खरिद गर्न नसकेको उनले बताए । यस्तै बाँकेमा धेरै दूध सङ्कलन गर्नेमध्ये खजुराको जनता दूध उत्पादक सहकारीले एक सूचना निकालेर दूध सङ्कलनको काममा कमी गरेको जनाएको छ । सहकारीले चारवटा केन्द्रमार्फत दूध खरिद गर्ने गरेकामा अहिले बेलुकाको दूध सबै बन्द गरेको छ ।

सहकारीले बिहान पनि एक दिन बिराएर दूध सङ्कलन गरिरहेको व्यवस्थापक गौरव सापकोटाले जानकारी दिए । जनता दूध सहकारीमा मात्र दैनिक १२ सय लिटर किसानसँग सङ्कलन गर्न नसक्दा किसानले घाटा बेहोर्न परिरहेको व्यवस्थापक सापकोटाले बताए । दैनिक १७ सय लिटर सङ्कलन गर्ने सहकारीले हाल मुस्किलले ३५० लिटर दूध किसानसँग खरिद गर्ने गरेको छ ।

‘दुध बिक्री हुनै छाडेपछि सङ्कलन गर्न कमी गरेका हौं,’ सहकारीका अध्यक्ष टेकबहादुर कार्की भन्छन्, ‘पाँच लिटरभन्दा कम दूध ल्याउने किसानलाई एक दिन बिराएर ल्याउन आग्रह गरेका छौँ ।’ डीडीसीले अनिश्चित समयका लागि सहकारीबाट दूध खरिद नगर्ने निर्णयपछि बाँकेमा उत्पादन भइरहेको दूध बिक्री गर्न थप समस्या भएको दूध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष अन्सारीको गुनासो छ ।

‘किसानले दूध खरिद गर्न दबाब दिइरहनुभएको छ तर हामी दूध सङ्कलन गर्न नसक्ने अवस्थामा छौं,’ अध्यक्ष अन्सारीले भने । बाँकेमा ठूला दूध सहकारी तथा डेरी ९–१० वटा छन् भने साना डेरी २५ वटाको हाराहारीमा रहेका छन् । कुल सङ्कलनको डाटा हेर्ने हो भने अहिले निषेधाज्ञाको अवधिमा ५० प्रतिशत पनि नपुग्ने सङ्घले जनाएको छ । सङ्घले दूध डेरीहरूलाई दिनभर सञ्चालन गर्न अनुमति दिनुपर्ने माग स्थानीय प्रशासनसँग गर्दै आएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०७:२७