दाङ । दोस्रो चरणको कोरोना महामारीले अहिले सबैभन्दा पीडामा चिकित्सक तथा स्वास्थ्यकर्मी छन् । हुन त चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आपत विपतका बेला नै धेरै खट्ने गर्छन् । तर, उनीहरू अहिले महामारीका बेला जसरी ज्यान नै जोखिम राखेर काम गरेका छन् । यसरी खट्ने चिकित्सक र स्वास्थ्यकर्मीको दैनिक समस्यामा अस्पताल व्यवस्थापन र सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिए उपचारमा कठिनाइ पर्न सक्ने देखिएको छ ।
हाल कम जनशक्ति महसुस भएका बेला उनीहरु बिरामी परे वा मानसिक तनावमा पर्दा पनि समस्या थपिन सक्छ । व्यवस्थापनबाट उनीहरूलाई खासै सहयोग नभएको पनि गुनासो गरेका छन् । उनीहरू दिनरात नभनी संक्रमितको उपचारमा खटिएका छन् । उनीहरूले परिवारभन्दा पनि कोरोना संक्रमितहरूको सेवा गरिरहेका छन् । यही वैशाख २० गते तुलसीपुर–९ निवासी बबई गाउँपालिकाका कोभिड १९ फोकल पर्सन शरदराज गिरीकी आमाको मृत्यु भयो ।
उनले आफ्नो फेसबुकमार्फत आफ्नो पीडा पोखे, ‘मम्मी हजुरलाई औषधि गर्ने मौका नि पाइएन । आजदेखि आमाको साइनो नै सकियो ।’ उनी पछिल्लो चरणमा देखिएको कोरोना महामारीका कारण रातदिन फिल्डमा खटिएका थिए । जसका कारण उनले आमा बिरामी हुँदासमेत औषधि गर्ने मौका पाएनन् । उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । अहिले कोरोना महामारीले विश्वभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको अवस्था यस्तै छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड १९ फोकल पर्सन विमल केसीले पहिलो चरणको कोरोनाभन्दा यस पटक बढी जोखिम रहेको बताए । उनले अहिले आफूहरू २४ सै घण्टा संक्रमितको उद्धारमा खटिरहेको समेत बताए । गत वर्षको कोरोना संक्रमित संख्या बढ्छ कि जस्तो लागेको थियो । तर यसपटक भने कोरोना संक्रमणसँगै मृत्यु हुनेको दर पनि बढिरहेकाले चिन्ता लागेको छ ।
‘हामीलाई जतिसक्यो बिरामीको सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, पूर्वाधार संयन्त्र जस्ता कुराहरू मिल्दैन । त्यतिबेला मन साह्रै मन दुखेको हुन्छ । हामीले सबै सेवा दिन खोजेका हुन्छौं । कतै न कतै केही कुरा पुगेको हुँदैन ।’ पहिलेको तुलनामा यसपटक धेरै खटिनुपरेको छ,’ उनले भने, ‘अरु कुरा छाडौँ अहिले फोन उठाउनसमेत फुर्सद छैन । तारन्तार फोन आइरहन्छन्, कसैलाई अक्सिजन चाहियो, कसैले कोरोना रिपोर्ट कहिले आउँछ, एम्बुलेन्स चाहियो ।’
‘अहिले हामीलाई पैसा होइन, स्वास्थ्य सामग्री र संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । त्यो पनि उपमहानगरबाट सहयोग पाउँदै आएका छौँ । पैसाको कुरा पछि गरौँला तर, हामीलाई संक्रमितको ज्यान कसरी बचाउने हो भन्ने ठूलो चिन्ता हुन्छ,’ केसीले भने । फोकल पर्सन केसी संक्रमितको उद्धारमा लागिपर्दा आफूलाई पनि संक्रमण हुने हो कि, बेड नपाइने हो कि भन्ने चिन्तामा छन् ।
‘हामी फिल्डमा खटिएका स्वास्थ्यकर्मीहरूलाई यदि संक्रमण भयो, भने कहाँ बस्ने भन्ने अवस्था छ । जिल्लामा स्वास्थ्यकर्मीका लागि आइसोलेसनको व्यवस्था भए हामीलाई काम गर्न थप हौसला हुन्थ्यो,’ केसीले भने, ‘अहिले धेरै स्वास्थ्यकर्मी घरबाट आउने जाने गर्नुभएको छ । हामी मात्र नभई हाम्रो परिवारलाई समेत संक्रमण हुने डर छ ।’ त्यस्तै शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले पनि गत वर्षभन्दा यसपटक स्वास्थ्यकर्मी धेरै खटिएका बताए ।
गत वर्ष कोरोनालाई नागरिकले हल्कारुपमा लिएका तर यसपटक धेरै जनाको ज्यान जान थालेपछि नागरिकहरू त्रासमा रहेका उनको बुझाइ छ । ‘अहिले शान्तिनगरले अक्सिजनसहित आइसोलेसन सञ्चालन गरेको छ । तर, त्यहाँ पर्याप्त मात्रामा अक्सिजन सिलिण्डर छैन । अहिले आइसोलेसनमा भर्ना भएकालाई अक्सिजनमा राख्नुपर्छ । जिल्लामा अक्सिजन अभाव छ । आइसियू पाउने कुरै भएन । हिजोआज २४ सै घण्टा संक्रमितको फोन आइरहन्छ,’ उनले भने ।
स्थानीय तहमा ८–१० वटा अक्सिजन सिलिण्डर हुने गरेका र एकातिर दिए अर्कातिर ज्यान जाने जोखिम बढ्न थालेको पुन चिन्ता गर्छन् । त्यस्तै अहिले १०० जनालाई कोरोना परीक्षण गर्दा ९० जनामा संक्रमण देखिन थालेको उनले बताए । जसले गर्दा स्वास्थ्यकर्मी नै जोखिममा पर्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । आइसोलेसनमा भर्ना भएकाले मात्र पूरा स्वास्थ्य सामग्री प्रयोग गर्ने गरे पनि अन्य स्वास्थ्यकर्मीले मास्क र पञ्जा मात्र लगाएर काम गर्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भएका हुन थालेका उनले बताए ।
‘अब ड्युटीमा कसलाई राख्ने टुंगो छैन । बिरामीलाई कसरी हेर्ने ? धेरै समस्या हुन लाग्यो । अब आफू मर्न लागे कसैले बचाउने हो टुंगो छैन,’ उनी निराश भए । गाउँपालिकाका कर्मचारीमध्ये सबैभन्दा बढी स्वास्थ्यकर्मी खटिएका उनले जानकारी दिए । ‘अहिले बिदा छ । गाउँपालिकाका सबै कर्मचारी फुर्सदिला भएर बसेका छन्,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरू भने २४ सै घण्टा खटिएका छन् । अफिस समय कुन हो । आज के बार हो भन्नेसमेत थाहा छैन ।’ स्वास्थ्यकर्मीहरू खटिएको २–३ दिनपछि आफैं संक्रमित हुन थालेको पनि उनले बताए ।
स्वास्थ्यकर्मीको हौसला बढाउन, उपचारका लागि पर्याप्त मात्रामा सामग्री र उनीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त मात्रामा हुनुपर्ने उनले माग गरे । स्वास्थ्यकर्मीहरूलाई राहत हुने कार्यक्रमका प्याकेज ल्याउनुपर्ने पनि उनले बताए । स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन व्यवस्था हुनुपर्ने उनले बताए । गत वर्षभन्दा यसपटक टोल छिमेकले स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण पनि बदलिएको आफूले पाएको उनी बताउँछन् । ‘गत वर्ष स्वास्थ्यकर्मी देख्नेबित्तिकै टोल छिमेकीहरू डर त्रासले भाग्थे, यस पटक त्यस्तो छैन ।’
अस्पतालको अवस्था हेर्दा छटपटाउँछौं
त्यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक एवं हेल्थ असिस्टेन्ट द्रोण वलीले आफूहरूको मुख्य काम नै बिरामीहरूलाई निको बनाएर घर पठाउने भएको बताए । तर अहिले अस्पतालमा अक्सिजन अभावले बिरामीहरू छटपटाएको देख्दा साह्रै पीडा हुने उनी बताउँछन् । गत वर्ष कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई खान र बस्न व्यवस्था गरे पनि यस पटक त्यसो भने हुन नसकेको वलीको भनाइ छ । उनले भने, ‘एकातिर जिल्लामा लकडाउन छ । अर्कोतिर घोराही र तुलसीपुरबाट स्वास्थ्यकर्मी बेलझुण्डी आउनुपर्छ ।’
आज ड्युटी गरेको स्टाफ भोलि आउँछ कि आउँदैन व्यवस्थापकलाई चिन्ता हुने गरेको वलीले बताए । पछिल्लो समय कोरोना संक्रमितको मृत्युदर बढ्दै जाँदा उनीजस्तै स्वास्थ्यकर्मीका परिवारसमेत भावुक भएका छन् । उनीहरूले आफ्ना छोराछोरीलाई अस्पतालमा नपठाउने हुन् कि भन्ने चिन्ता बढ्न थालेको छ । यसले स्वास्थकर्मी नै त्रसित बन्न थालेका वलीले बताए । अस्पतालमा स्वास्थकर्मीलाई खाना र बस्न व्यवस्था नहुँदा उनीहरू ड्युटी सकेर घर जानुपर्ने बाध्यता छ। जसले परिवारमा पनि संक्रमण हुन्छ भन्ने त्रास बढेको वली बताउँछन् ।
।