सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

दिनदिनै रेकर्ड ब्रेक : देशभर ९१९६ जनामा कोरोना संक्रमण, ५० को मृत्यु

बाँकेमा ७३१ जना संक्रमित थपिएका छन् भने हालसम्म बाँकेमा १७० जनाको मृत्यु भएको छ ।

बाँके । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ । त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ५७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् भने गण्डकी प्रदेशमा कास्कीमा ३९३ जना संक्रमित छन् ।

लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा १२५ जना संक्रमित थपिएका छन् । हाल २२ जिल्लामा ५०० भन्दाबढी सक्रिय संक्रमित छन् भने २१ जिल्लामा २०० भन्दाबढी सक्रिय संक्रमित छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ । यसमध्ये ७२ हजार ६७९ होम आइसोलेसन, ५ हजार ८६० जना संस्थागत आइसोलेसन, ७२८ जना आइसीयू र २३१ जना भेन्टिलेटरमा छन् ।

बाँकेमा ७३१ जना संक्रमित थपिए

बाँकेमा शुक्रबार ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ७३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ३४३, मेडिकल कलेज कोहलपुरमा १५८ र बागेश्वरी प्रयोगशालामा २३० जना गरी जम्मा ७३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै बाँकेमा हालसम्म कोरोना संक्रमणबाट १७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १८:१८