सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोभिड–१९ एवम् जल संकट

हाम्रो देश विश्वका ती देशहरुमध्ये एक पर्दछ, जसमा समुदायको बसोवास नजिक स्वच्छ खानेपानीको उपलब्धता सबैभन्दा कम छ ।

देशमा कोभिड–१९ को प्रलयकारी महामारीको प्रसारमाथि नियन्त्रणका लागि लागु गएिको लकडाउनको बेला स्वच्छ सफा खानेपानीको उपलब्धता एवम् यसको व्यवस्थापन निकै नै चुनौतिपूर्ण देखिन्छ । काठमाडौं उपत्यकामा भलै हामी मेलम्चीको पानी उपत्यकाको खानेपानी वितरण सञ्जालमा मिसाइएको आत्मरतीमा छ/छौं । यो पानी जनसमुदायको धरामा बग्नुभन्दा पुरानो खानेपानी वितरण प्रणालीका पाइप फुटेर शहरका टोलटोलका बाटामा चुहिएर बगेको दृश्य त हाम्रा सामु छँदैछ । सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको स्वास्थ्य सचेतना, सुरक्षा निर्देशिका जुन जनसमुदायले साबुन पानीले नियमित हात धुनुलाई कोभिड–१९ को महामारी प्रसारण नियन्त्रित गर्ने सबैभन्दा प्रभावकारी उपाय मानिएको छ ।

यसकुरालाई मनन गर्ने एवम् कार्यान्वयन गर्ने हो भने देशका सबै जनसमुदायहरुका लागि स्वच्छ एवम् पिउन योग्य पानीको उपलब्धता सुनिश्चित गर्ने कुरामा जोड दिनुपर्ने दायित्व त राज्यको हुनुपर्ने हो तर वर्तमानको हाम्रो राज्य व्यवस्थापनको स्थिति हेर्दा आम नागरिकलाई ढुक्क हुने भन्ने झिनो आशा पनि छैन, घुम्ती ट्यांकर, जार अनि बोतलबन्द पानी आपूर्ति निजी क्षेत्रले गरेको आपूर्तिबाहेक । आजको हाम्रो आफ्नो परिवेशमा संघीय, प्रादेशिक एवम् स्थानीय सरकारको प्राथमिकता यस प्रलयकारी कोभिड–१९ को महामारीको बेला स्वच्छ खानेपानी संकटसँग जुधिरहेका क्षेत्रहरुमा खानेपानीको आपूर्ति बढाउने प्रयासहरुलाई प्राथमिकता दिनुपर्ने हुन्छ । सरकारले समाजका कमजोर वर्गहरु, राहात शिविर, क्वारेन्टिन केन्द्रहरु, अस्पतालहरु, बृद्धाश्रम एवम् शहरका सुकुम्बासी शहरका झुपडी वस्तीहरुमा बस्नेहरुका लागि विशेष ध्यान दिनुपर्ने त हो ।

यसका लागि आवश्यक रसायनहरुजस्तै क्लोरिन चक्की, ब्लीचिङ्ग पाउडर, सोडियम हाइपोक्लोराइट झोल र फिटकिरी पोटास आदि सहजरुपमा निर्वाधरुपले उपलब्ध गराउनुपर्ने हुन्छ । यसबेला सामाजिक दूरी राख्ने नियमलाई पालन गर्नका लागि जलआपूर्ति श्रोतहरु धारा, ट्याङ्कर आदि नजिक मानिसको संख्या बढ्न सक्ने, घुँइचो लाग्न सक्ने स्थितिमा खानेपानी आपूर्तिको समय बढाउनपर्ने हुन्छ । ग्रामीण क्षेत्रहरुमा टेपट कीट उपलव्ध गराएर जलश्रोतहरुको नियमित जाँच गर्ने अनि २४ घण्टा नै खानेपानी आपूर्ति गर्नुपर्ने आवश्यक कदम चाल्नु पर्नेछ । यो जनस्वास्थ्य संरक्षणका लागि सामाजिक दायित्वका रुपमा यद्यपी हातहरुको स्वच्छता अर्थात हात नियमितरुपले सफा राख्नलाई कोभिड–१९ को कोरोना भाइरसबाट बच्ने एउटा प्रभावकारी तरिका मानिएको छ तर सबैका लागि स्वच्छ खानेपानी उपलब्ध हुन नसक्नु पछिल्लो कैयौं वर्षदेखि देशका लागि एउटा चुनौति बनेको छ ।

हाम्रो देश विश्वका ती देशहरुमध्ये एक पर्दछ, जसमा समुदायको बसोवास नजिक स्वच्छ खानेपानीको उपलब्धता सबैभन्दा कम छ । हाम्रो आफ्नो परिवेशमा वर्तमान खानेपानी संकटको प्राकृतिक कारणहरुमा पछिल्ला केही वर्षहरुमा अनियम एवम् न्यून वर्षा हुनु, खडेरी पर्नु एवम् जलवायु परिवर्तनको नकारात्मक प्रभाव प्रमुख मानिएको छ । मानवीय गतिविधिहरुका कारण हुने प्राकृतिक श्रोतहरुको प्रदुषण साथै कृषि तथा औद्योगिक क्षेत्रहरुमा उत्पादन बृद्धिका लागि जलको अनियन्त्रित दोहनले जल संकटमा कैयौं गुणा बृद्धि गरिएको छ । पानी अर्थात खानेपानी आपूर्ति, सिँचाई अनि नहरहरु, जलनिकाश एवम् तटवन्ध, जल संग्रहका आधार मानिसको छ । जसको जनसमुदायमा उपलब्धता एवम् व्यवस्थापन गर्नु एउटा लोककल्याणकारी राज्यको नैतिक जिम्मेवारी मनिन्छ तर हाम्रो परिवेशमा भने राज्य संवेदनशील देखिँदैन । वर्तमानमा कोभिड–१९ को प्रलयकारी महामारीबाट सबैभन्दा बढी खतरा आर्थिकरुपले कमजोर बर्गलाई छ ।

यस समूहका मानिसहरु प्रायः घना शहरी आवादि भएका क्षेत्रमा बसोवास गर्दछन् । जहाँ सबैका लागि स्वच्छ खानेपानीको उपलब्धता धेरै गाह्रो हुन्छ । त्यसै भएर होला भारतको मुम्बइ शहरमा कोभिड–१९ को महामारी फैलिदा शुरुका दिनमा झुपडी वस्तीका जनसमुदाय बढी प्रभावित भएको दृष्टान्त हाम्रो सामु छ । त्यसैले राज्यले यस्ता क्षेत्रहरुमा प्रत्येक परिवारसम्म स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ । स्वयंसेवी संस्था एवम् यस क्षेत्रमा काम गर्ने अन्य गैह्र सरकारी संस्था एवम् समाजीक संस्थाहरुसँग सहकार्य एवम् सहयोग लिई पानी लगायत अन्य आवश्यक वस्तुहरुको आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ । यसका साथै कोभिड–१९ का बारेमा सचेतना कार्यक्रम समुदायहरुमा यथेष्ठ मात्रामा संचालन गरिनु पर्दछ । जसले गर्दा यस रोगबाट संक्रमित समुदायको पहिचान गरेर तिनलाई चिकित्सकीय सहायता बेलैमा उपलब्ध गराउन सकियोस् । पानीको अनियन्त्रित दोहन एवम् प्रदूषण वर्तमान जलसंकटको सबैभन्दा प्रमुख कारण हो ।

त्यसैले स्वच्छ खानेपानीको आपूर्ति सुनिश्चित गर्नका लागि यसलाई नियन्त्रण गर्नु अति आवश्यक छ । प्राकृतिक जल संरक्षण एवम् पानीको पुनः प्रयोगलाई प्रोत्साहित गरी जलसंकटको दवावलाई कम गर्न सकिन्छ । यस कोभिड–१९ को महामारीले हामीलाई एउटा पाठ सिकाइराखेको छ कि हामी यस श्रृङ्खलामा त्यति नै कमजोर छौं जति दुनियाका सबैभन्दा कमजोर मानिस छन् । हामीलाई यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि प्रत्येक सबैसँग सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् अनि कोही पनि यस भाइरसको शिकार नबनुन । पानीसँग पनि यस्तो समस्या छ । यदि जनसमुदायसँग सफा पानीसम्मको पहुँच छैन भने तिनीहरुले महामारी फैलनलाई रोक्न सक्ने छैनन् । सबै कुराको चुरो यति मात्र हो कि स्वच्छ सफा पानी सबैका लागि सस्तो एवं सुलभ हुनुपर्दछ । अन्यथा यो कसैका लागि पनि लामो समयसम्म उपलब्ध रहने छैन । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार ०७:३१