सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

१२ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

फाइल तस्वीर

बाँके । बाँकेमा कोरोना संक्रमणका १२ घण्टाको अवधिमा १० जनाको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहान ७ बजेसम्म १० जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

त्यस अवधिमा जिल्लाभित्रका ९ जना र जिल्ला बाहिरका १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । यसरी ज्यान मुमाउनेमा नेपालगन्ज उपमहानगरपालिकाभिका धेरै छन् । बुधबार बेलुका सवा ६ बजे नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षिय पुरुषको मृत्यु भएको भएको थियो ।

बैशाख १७ गते कोरोना संक्रमण देखिएपछि भेरी अस्पताल भर्ना भएका उनको पाँच दिनपछि बुधबार उनको मृत्यु भएको हो । त्यस्तै बैशाख १७ गते पिसिआर परिक्षण गराएकी नेपालगन्ज १० कि ७६ वर्षिय महिलाको पनि मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि १९ गते ती महिलालाई भेरी अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएर उपचार चलिरहेकै अवस्थामा बुधबार बेलुका ७ः३० मा ति महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि उनलाई २० गते अस्पताल भर्ना भएका नेपालगन्ज १ का ५८ वर्षिय पुरुषको बुधबार राती नै ८ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यसको २० मिनेटपछि कोरोनाबाटै भेरी अस्पतालमा नेपालगन्ज–१० का २७ वर्षिय एक जना युवाको मृत्यु भएको थियो । बैशाख १९ गते अस्पताल भर्ना भएका ती युवाको बुधबार बेलुका ८ः२० मा मृत्यु भएको हो । यसअघि बुधबार बेलुका ७ बजे भेरी नगरपालिका–४ जाजरकोटकी ४३ वर्षिय महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।

बैशाख २२ गते अस्पताल भर्ना भएकी महिलाको बेलुकी मृत्यु भएको छ । त्यसैगरी बेलुका ७ः४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि बैशाख १४ गते शिक्षण अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

मध्यराती साढे १२ बजे नेपालगन्ज–४ का ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । बैशाख १८ गते पिसिआर परिक्षण गराएर १९ गते अस्पताल भर्ना भएका ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै रातीको १ बजेदेखि बिहान ७ बजेको अवधिमा बाँकेकै तीन जनाले कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन ओलीका अनुसार बिहान १ः४० बजे नेपालगन्ज १० का ७८ वर्षिय पुरुष, बिहान ४ः३० बजे नेपालगन्ज १९ का ७७ वर्षिय पुरुष र बिहान ७ बजे नरैनापुर गाउँपालिका–१ का ५६ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

बैशाख २० गते प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा कोरोना परिक्षण गराएका ती पुरुषलाई २१ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएर उपचार गरिरहेको अवस्थामा उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेकोसंख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार ०९:२३