सूचनाको शक्ति - The Power Of Information

        

राजनीति कि लाजनीति ?

मुख्यमन्त्री पोखरेलको कर्तुत, ‘बैठकमै अनुपस्थित सांसदको किर्ते हस्ताक्षर’

आफू अनुपस्थित हुँदाहुँदै आफ्नो हस्ताक्षर किर्ते गरी दुरुपयोग गर्नु गम्भीर अपराध हो : अमरबहादुर डाँगी

बाँके । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको राजीनामाले मुख्यमन्त्री शंकर पोखरेलको गम्भीर कर्तुत फेला परेको छ । प्रदेशसभा सदस्य डाँगीले दिएको राजीनामा पत्रपछि मुख्यमन्त्री पोखरेलको गम्भीर कर्तुत फेला परेको हो ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट बैशाख १९ गते विहान अकस्मात राजिनामा दिनुअघि बुटवलस्थित होटल न्यूइरामा एमाले संसदीय दलको बैठक बसी मुख्यमन्त्रीबाट राजीनामा दिने र पुनः नेकपा एमालेको एकल सरकारमा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णयसहितको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा गएको थियो ।

होटल न्यूइरामा बसेको भनिएको संसदीय दलको बैठकमा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य अमरबहादुर डाँगी अनुपस्थित भएको तथ्यसँगै मुख्यमन्त्री पोखरेलले उनको हस्ताक्षर किर्ते गरेर प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको पाइएको छ । प्रदेशसभा सदस्य डाँगीले बुधबार बुझाएको राजीनामा पत्रमै सो दिन आफु अनुपस्थित रहेको जनाएका छन् ।

प्रदेशसभा सदस्य डाँगीले भने, ‘म त्यसदिनको संसदीय दलको बैठकमा अनुपस्थित थिए । मेरो हस्ताक्षर कसरी प्रदेश प्रमुखको कार्यालयमा पुग्यो । उक्त कार्यको खोजी हुनेछ । त्यसको जवाफ मुख्यमन्त्रीले पनि दिनुहोला । यसरी जालसाँझी र किर्ते गर्नेहरुको झुण्डमा बस्नुभन्दा प्रदेशसभाबाटै राजीनामा दिएर जनताका काममा सहभागी हुने निर्णयमा पुगेको हुँ ।’

उनको राजीनामा पत्रमा मिति २०७८ वैशाख १९ गते नेकपा (एमाले) लुम्बिनी प्रदेशको संसदीय दलको बैठकमा म अनुपस्थित भएको जनाइएको छ । आफू अनुपस्थित हुँदाहुँदै आफ्नो हस्ताक्षर किर्ते गरी दुरुपयोग गर्नु गम्भीर अपराध भएको बताए । यसअघि पनि मुख्यमन्त्री पोखरेलले आफ्नो पुनःनियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको केही सांसदले आरोप लगाएका थिए ।

राजीनामा पत्रमा भनिएको छ, ‘अहिले जनताको झन्डै दुई तिहाई जनमतको बरखिलाफ सम्माननीय प्रधान मन्त्री केपी शर्मा वली द्वारा संसद विघटन गरी सिंगो कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस गर्ने गरियो साथै संविधान, विधि र प्रक्रियाको चिरहरण गरिएको सर्वविदित छ । मुलुकमा अस्थिरताको विजारोपण गरियो । फलस्वरुप लुम्बिनी प्रदेश लगायत कतिपय प्रदेशहरुमा गलत लोकतान्त्रिक संस्कृति हावी हुन पुग्यो ।’

‘म उच्च रक्तचापको विरामी भएको हुनाले यो राजनीतिक खिचातानीबाट मुक्त भई केही समय आराम गरी एकीकृत कम्युनिष्ट आन्दोलन र बृहत बाममोर्चा निर्माणमा सहभागी हुँदै लोकतान्त्रिक संस्कृति स्थापनाका साथै बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद उन्मुख राजनीतिक प्रणाली स्थापनाको आन्दोलनमा सहभागी हुन आम जनसमुदाय र मतदाताप्रति वचनबद्धता जाहेर गर्दै हाललाई सम्पूर्ण मतदाताहरु र सहयोगीप्रति क्षमायाचना गर्दै प्रदेशसभा सदस्य पदबाट राजिनामा दिएको छु,’ राजीनामा पत्रमा भनिएको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले भने बुधवार सूचना जारी गरेर सभामुखसमक्ष पेश गरेको प्रदेशसभा सदस्य डाँगीको लिखित राजीनामा स्वीकृत गर्दै पदमुक्त गरेको सूचना प्रकाशित भइसकेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिएका छन् । प्रदेशसभाबाट राजीनामा दिएर डाँगी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । डाँगी माओवादी केन्द्रमा प्रवेश गरेसँगै राजनीतिक रुपमा मुख्यमन्त्री शंकर पोखरेललाई धक्का लागेको छ ।

मुख्यमन्त्री पोखरेल र डाँगी एउटै गाउँठाउँका नेता हुन् । एकै ठाउँको भए पनि डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर थिए । डाँगी घोराही उपमहानगरपालिकाका पूर्वमेयर पनि हुन् । उनको घोराहीमा राम्रो पकड रहेको पनि एमाले निकटका नेताहरु बताउँछन् । सांसद डाँगी पनि चार दलीय गठबन्धनको पक्षमा लागेको चर्चासँगै मुख्यमन्त्री पोखरेलको आगामी राजनीतिक यात्रा थप जटिल बनेको आंकलनहरु हुन थालेका छन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार १८:४०