सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सांसद डाँगीको राजीनामाले मुख्यमन्त्री पोखरेललाई धक्का

बुटवल । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले बुधवार सूचना जारी गरेर सभामुख समक्ष पेश गरेको डाँगीको लिखित राजीनामा स्वीकृत गर्दै पदमुक्त गरेको हो ।

नेपालको संविधानको धारा १८० (क) बमोजिम स्थान रिक्त भएकाले प्रदेशसभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारी लागि सूचना प्रकाशित गरिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिएका छन् । प्रदेशसभाबाट राजीनामा दिएर उनी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

बुधवारै सभामुखलाई बुझाएको राजीनामा पत्रमा उनले विरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्नका लागि भनेर कारण उल्लेख गरेका छन् । डाँगी माओवादी केन्द्र प्रवेश गरेसँगै राजनीतिक रुपमा मुख्यमन्त्री शंकर पोखरेललाई धक्का लागेको छ । किनकी डाँगी र मुख्यमन्त्री पोखरेलका एउटै गाउँठाउँका नेता हुन् ।

एकै ठाउँको भए पनि डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर थिए । उनी घोराही उपमहानगरपालिकाका पूर्वमेयर पनि हुन् । सांसद डाँगी पनि चार दलीय गठबन्धनको पक्षमा लागेको चर्चासँगै मुख्यमन्त्री पोखरेलको आगामी राजनीतिक यात्रा थप जटिल बनेको आंकलनहरु हुन थालेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार १७:५१