सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभाको उपनिर्वाचन : बादललाई देवकोटाको काउण्टर

काठमाडौं । बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका नेता रामबहादुर थापा बादलसँग विपक्षी गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बादललाई अघि सार्दा नेपाली कांग्रेस, माओवादी केद्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूहले एमालेको माधव नेपाल समूह देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेका हुन् ।

देवकोटाले आफू राष्ट्रिय सभाको उम्मेद्वारका लागि छानिएको बारे अनौपचारिक जानकारी आएको बताए । ‘औपचारिक जानकारी त आइसकेको छैन । अनौपचारिक रुपमा मलाई छानिएको भन्ने सुनेको छु,’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका नेता उपेन्द्र यादव र एमालेका नेता माधवकुमार नेपालको मंगलवार साँझको छलफलले देवकोटालाई उम्मेद्वार बनाउने सहमति गरेको बताइएको छ ।

सर्वोच्च अदालतले माओवादी र एमालेलाई अलग गराएसँगै बादलले माओवादी छोडेको घोषणा गरेका थिए । पार्टी परित्यागपछि माओवादी केन्द्रले उनलाई सांसद पदबाट हटाएको थियो । राष्ट्रिय सभाको रिक्त पदमा उपनिर्वाचन हुँदै छ ।

उक्त निर्वाचनमा ओलीलाई एमलेकै माधव नेपाल समूहले साथ नदिने भएको छ । विपक्षी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका देवकोटा बागमती प्रदेशको योजना आयोगको उपध्यक्ष भएका थिए । अर्थशास्त्रमा पीएचडी गरेका देवकोटा वित्तीय संघीयता विज्ञ मानिन्छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार १७:४६