सूचनाको शक्ति - The Power Of Information

        

समाचार

दलबलसहित देउवालाई भेट्न प्रधानमन्त्री ओली बूढानीलकण्ठमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बालुवाटार स्रोतले जनाएको छ ।

यता कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि ओली बुढानिलकण्ठ आइपुगेको पुष्टि गरे । ओलीले २७ गते प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतमा आफ्नो पक्षमा मत दिन आग्रह गर्न देउवा निवास पुगेका हुन् । प्रधानमन्त्री भएपछि ओली आफ्नो समूहसहित देउवा निवास गएको यो पहिलो घटना हो ।

कांग्रेसले भने यसअघि नै ओलीको योजना फेल गराउने निर्णय पदाधिकारीको बैठकबाट गरिसकेको छ । माओवादी केन्द्रले आज संसदमा सरकारको समर्थन फिर्ता लिएपछि ओलीले आफ्नो सत्ता जोगाउन बुढानिलकण्ठ पुगेको बताइएको छ । प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच बूढानीलकण्ठमा छलफल जारी छ ।

मंगलबार साँझ काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओलीइत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि ओली देउवालाई भेट्न निवासमै पुगेको बुझिएको छ । वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेका ओली चार नेताको छलफलबाट झस्किएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार १७:३३