सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट ५८ को मृत्यु, ८६५९ जना संक्रमित

लुम्बिनी प्रदेशको बाँकेमा ५९१ जना र रुपन्देहीमा ६८० जना कोरोना संक्रमित थपिएका छन् ।

फाइल तस्वीर

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । साढे ८ हजार बढी संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६१ हजार ५८८ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म ३ लाख ५९ हजार ६१० जनामा संक्रमण पुष्टि भइसकेको छ । काठमाडौँ उपत्यकामात्र ३८२५ जना संक्रमित थपिएका छन् । यसमध्ये भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौँमा २ हजार ८४९ जना संक्रमिण थपिएका हुन् ।

प्रदेश १ मा झापामा २६९ र मोरङमा २०६ जना संक्रमित थपिएका छन् भने प्रदेश २ मा पर्सामा १५२ र धनुषामा १४९ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा कास्कीमा २८४, लुम्बिनी प्रदेशको बाँकेमा ५९१ र रुपन्देहीमा ६८० जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा सुर्खेतमा सर्वाधिक १५४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलालीमा १४५ र कञ्चनपुरमा १४० जना संक्रमित थपिएका छन् । नेपालमा निको हुने नर ८०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा हालसम्म कोभिड–१९ बाट ३ हजार ४७५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार १७:१९