श्री माननीय बुबा, आमा, दाजुभाई, दिदीबहिनी, राज्य सञ्चालकज्यू, पत्रकारज्यू, मानव अधिकारकर्मी, बाल अधिकारकर्मी, नीति निर्माताज्यू साथै देशबासीमा मृत आत्माको ढोग ।
आज हजुरहरूलाई सम्झदै दुई शब्द लेखन मन लाग्यो । हुन त हिजो अस्पतालको ओछ्यानबाट भेन्टिलेटरको सहायताले चलेको ढुकढुकीबाट आवाजविहीन चित्कार त सुन्नु भएन भने अब त म यो संसारमा नै छैन के सुन्नुहुन्छ ? पहिला त म छोरी भएर जन्मेकोमा सबैसँग माफ माग्छु । किनकि म छोरी भएरै जन्मेको कारण अकल्पनीय रुपमा ज्यान गुमाउनपर्यो । यो त मेरो आत्म मूल्याङकन हो । अब यस देशमा छोरी भएकै कारण सबै छोरी यसरी नै मर्नुपर्ने हो ? वा राज्यबाट बनाइएका कडाभन्दा कडा ऐन कानुनले मर्नुपर्ने हो ? यो प्रश्न नीति निर्माता, महिला अधिकारवादी, मानव अधिकारवादी, बाल अधिकारवादीलाई ।
हुन त आज छोरी भएकै कारण गर्भ परीक्षण गरी भ्रुण हत्या गरेर यस धर्तीमा पाइला टेकेर संसारलाई चिहाउन नपाएको अवस्था छ । त्यसको तुलनामा म भाग्यमानी ठान्छु । मेरो आमा बुबाले छोरी नै भए पनि जन्म दिनुभो । तर अहिले मभन्दा ती गर्भमै तुहाइने छोरीलाई भाग्यमानी ठान्छु । किनकि, छोरी भएर जन्मेको कारण नै मैले भोग्ने पीडा उनीहरूले भोग्नु परेन । म मात्र ६ वर्षकी थिएँ । ममा कुनै यौवनका संकेत नै थिए न त कुनै श्रृङ्गार पटारबाट अरुलाई अकर्षण नै गर्थेँ । थियो त केवल बालसुलभ चञ्चलापन । मेरो लागि यो धर्तीका हरेक मान्छे एउटै थिए । विभेद पाए महिला र पुरुषको रुपमा पाउँथेँ ।
पुरुष जति मेरो लागि बुबा, दाइभाई थिए भने महिला जति आमा, दिदीबहिनी थिए । म सबैलाई गंगाको निर्मल जलझैं पवित्र ठान्थेँ र म पनि त्यस्तै पवित्र थिएँ । म आफूभन्दा ठूला मान्छेको साथमा रहदा सुरक्षित ठान्थेँ । त्यसैले ती नरपिशाचको काखमा पनि माया र सुरक्षाको अनुभूत गरिरहेकी थिएँ । मानव विकासको हरेक चरणमा शारीरिक, मानसिक र संवेगात्मक विकास हुन्छ । म त पूर्वबाल्यावस्था मै थिएँ । ममा शारीरिक, मानसिक र संवेगात्मक विकास भैसकेको थिएन । म धेरै शब्दहरू जानेकी पनि थिइन न त ठूला मान्छेका व्यवहार नै बुझ्थेँ ।
मेरो आफ्नै संसार थियो भाँडाकुटी, संगीसाथी । तर आज म यसरी नफक्रँदै कोपिला मै चुँडिएँ, निमोठिएँ र मिल्काइएँ । मेरो पीडालाई न त ती नरपिशाचले नै बुझे न त राज्यले । ती मानवता गुमेका नरपिशाचसँग त मेरो केही गुनासो छैन । तर राज्य र यहाँका नीति निर्मातासँग भने छ । म जन्मँदा एउटा परिवारको छोरीको रुपमा जन्मे पनि जव म दर्दनाक घटनामा परेर हस्पिटलको ओछ्यानमा जीवन मृत्युसँग लडिरहेकी थिएँ त्यतिबेला म यो देशकी छोरी थिएँ । मेरो पीडाले देशलाई दुख्न पर्ने थियो तर दुखेन । एउटा अबोध बालिकाको अस्मिता लुटिँदा सबै मुकदर्शक भएर बस्न सक्ने यो देशको कानुन कस्तो ?
म हस्पिटलको ओछयानमा अचेत अबस्थामा भेन्टिलेटरको सहायताले सास फेरिरहेकी थिएँ । मेरो बुबा र आमाको आशा बाँचोस् भन्ने थियो । म बाँचे पनि यो ठाउँमा सुरक्षित थिइन आमा । न त सबै पीडा हजुरसँग भन्न नै जान्दथेँ न त मेरो पीडा सुन्न नै सक्नुहुन्थ्यो । म हजुरबाट सदाको लागि विदा भएँ आमा म विदा हुँदा नरुनु बरु अब छोरी सुरक्षित छ भनेर खुसी हुनु आमा । बुबा जति नजिक आउनुहुन्थ्यो हजुर आउन सक्नु भएन किनकि त्यो पीडा हजुरले जति बुझ्नुहुन्थ्यो बुबाले बुझ्नुहुन्नथ्यो । आमा अब पिर नमान्नु म यी नरपिशानचबाट कहिल्यै लुटिन्न आमा, कहिल्यै लुटिन्न, सुरक्षित भएँ ।
यहाँ यस्ता अपराधीलाई सजाय दिइन्न । किनकि, यो जघन्य अपराधको कडा कानुन बनाउँदा आफ्ना छोरा फस्लान भन्ने नीति निर्माता र राज्य सञ्चालकलाई डर छ । यस्तो शासन व्यवस्था भएको देशको नागरिक हुनुभन्दा मर्नु नै ठीक भयो आमा । त्यसैले हृदय नभएको राज्यको अगााडि आँसु नचुहाउनु होला कातर स्वर नसुनाउनु होला । म नेपालका सबै आमासँग हात जोडेर हात जोडेर यो भन्छु, यसरी अस्मिता लुटिएर मर्नुभन्दा छोरीको गर्भमा नै भ्रुण हत्या गर जन्म नदेऊ आमा जन्म नदेऊ । उही नेपाल आमाकी छोरी । (लेखिका पन्त महेन्द्र बोधी मावि तानसेन पाल्पामा अध्यापनरत छन् ।) –मेरोज्यूज
।