सल्यान । जिल्लामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ । जसका कारण कोरोना परीक्षण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लामा यसअघि ७५० किट आएको र पालिकाहरूमा समेत किट वितरण गरिएकाले स्टक सकिएको स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए ।
एन्टिजेन किट अभाव भएपछि पिसिआर विधिबाट परीक्षण सुरु गरिएको उनले बताए । एन्टिजिन विधिबाट छिटो रिपोर्ट आउँथ्यो, तर पिसिआर गर्दा एक दुई दिन बढी लाग्ने उनले बताए । प्रदेश सरकारले किट उपलब्ध गराउँदै आए पनि प्रदेशमा नै किट सकिएको छ । पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी थलराज डिसीका अनुसार बजारमा नै किट अभाव भएको छ । जिल्लामा हालसम्म ६९२ जनाको एन्टिजेन परीक्षण गरेकोमा ३४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल ३२१ सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । जसमा सल्यान अस्पतालमा १२, संस्थागतमा ५ र ३०४ जना होम आइसोलेसनमा छन् ।
।