सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम बंगालमा भाजपा कार्यकर्तामाथि लगातार आक्रमण, ९ जनाको हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएदेखि तृणमूल कांग्रेस र भारतीय जनता पार्टीका कार्यकर्ताबीच भिडन्तका खबर आइरहेका छन् ।

भाजपाले आफ्ना नौजना कार्यकर्तालाई तृणमूलले आक्रमणपछि हत्या गरेको दाबी गरेको छ । तृणमूलले पनि आफ्ना कार्यकर्ताहरूको हत्या गरिएको दाबी गरेको छ ।

भाजपा नेता कैलाश विजयवर्गीयले दुई महिलामाथि नराम्ररी आक्रमण गरिएको भिडियो सार्वजनिक गरेका छन् । तृणमूलका मुसलमान गुण्डाहरूले भाजपाका महिला कार्यकर्तामाथि केन्दामाडी गाउँमा कुटपिट गरेको उनको दाबी छ ।

ट्विटर प्रयोगकर्ताहरूले बंगालमा हिंसा मच्चिएको विषयमा ममता बनर्जी सरकारको कठोर आलोचना गरेका छन् । आइतवार मतपरिणाम सार्वजनिक भएदेखि नै हिंसा मच्चिएको हो ।

आरामबागमा रहेको भाजपा कार्यालयमा आगजनी गरिएको खबर आएको थियो । त्यसपछि पूर्वी वर्धमान, नन्दीग्राम, बशीरहाट, आसनसोल, हल्दिया र बेलघाटामा पनि कुटपिट र आगजनीका घटना भएका छन् ।

यसैबीच भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले दुई दिने बंगाल भ्रमण गर्ने भएका छन् । उनले हिंसापीडित परिवारलाई पनि भेट्नेछन् । गृह मन्त्रालयले बंगालमा भइरहेको हिंसाका विषयमा राज्य सरकारसँग रिपोर्ट मागेको छ ।

हिंसाका विरुद्ध बुधवार देशभरि धर्ना दिने भाजपाको घोषणा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १०:४९