सूचनाको शक्ति - The Power Of Information

        

कोरोना त्रासले सल्यानका विद्यालय बन्द, वैकल्पिक माध्यमबाट पढाइ

सल्यान । कोरोना भाइरस संक्रमणका कारण सल्यानका प्राय विद्यालय बन्द रहे पनि शारदा नगरपालिकाका विद्यालयमा भने पढाइ रोकिएको छैन । नगरपालिकाको शिक्षा शाखाले शिक्षा प्रतिकार्य योजना निर्माण गरी पठनपाठन गराइरहेको छ ।

शिक्षा प्रतिकार्य योजनाअनुसार सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरी टोल सिकाइमार्फत पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख लिलाबहादुर बबालले बताए । नगरपालिकाभित्रका ५८ वटा विद्यालयमा सिकाइ अभिभावक समूह गठन गरेर पठनपाठन भइरहेको छ ।

शिक्षा शाखा प्रमुख बबालले भने, ‘प्रत्येक विद्यालयमा क्लोज युजर ग्रुप निर्माण गरी टोल सिकाइलाई प्राथमिकता दिनुका साथै अभिभावक समूहमार्फत विद्यार्थीहरुलाई टोलमा जम्मा गरी पढाइ हुने गरेको छ ।’

शिवजन माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक शिवलाल थापाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी विद्यार्थीको पायक पर्ने स्थानमा जम्मा गरी पठनपाठन गरिरहेको बताए ।

शैक्षिक सत्र ढिलो गरी सुरु भएको र शैक्षिक सत्र नसकिँदै विद्यालय बन्द गर्नुपर्ने बाध्यता भएपछि टोल सिकाइको माध्यमबाट पठनपाठन भइरहेको छ । शारदा नगरपालिकाभित्रका ५८ विद्यालयका करिब ११ हजार विद्यार्थी वैकल्पिक माध्यमको प्रयोग गरी अध्ययान गरिहेका छन् ।

कोरोना भाइरसका कारण विद्यालय बन्द भएको समयमा टोल टोलमा समूह बनाई पढाउँदा प्रभावकारी भएको अभिभावक खुमा डाँगीले बताइन् । यस प्रकारको शिक्षाले साना बालबालिकाहरुमा पढ्ने बानीको विकास गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार ०७:०८