बझाङ । जयपृथ्वी नगरपालिका–६ नौराकी ६ बर्षिया शिवानी सिंह र उनका ८ बर्षिय दाई बैसाख १७ गते ४ बजेतिर घर नजिकै आँगनमा हाँस्दै रमाउँदै खेलिरहेका थिए । तर एक्कासी दिउँसोपख आएको हावाहुरीका कारण शिवानीको आँखामा खेलिरहेकै अवस्थामा छारो पस्यो । त्यतिबेला केहि भएन र त्यो दिन आँखामा छारो पसेको कुरा आमालाइ पनि भनिनन् । विस्तारै शिवानीको आँखा विजाउन र दुख्न थाल्यो । तीन दिनपछि देव्रे आँखा पूर्णरुपमा बन्द नै भयो ।
आमा धर्मादेवीले भनिन्, ‘एकातिर आफूसँग पैसा थिएन, अर्कातिर उपचार गर्न जाउ भन्या कोरोनाले अस्पताल बन्द छन् की भन्या सोच्याउ । अब जेइ होउ अस्पताल बन्द भया पन मेडिकल जाउ भनि मेडिकल आय । यता मेडिकल वालाले या सकिदैन जिल्ला अस्पताल जाउ भने । जिल्ला अस्पताल जाँदा हामी सक्दैनौ । छोरीको माया भयाखी धनगढीको गेटा अस्पताल जाउ भन्यो । अब कसरी जाने ?’
शिवानीका बुवा लोकेन्द्र सिंह २०७७ साल पुस महिनामा भारतको पाण्डेसरीमा गाउँघरमा काम नपाएपछि त्यतिकै बेरोजगार बस्नुभन्दा दुई–चार पैसा भए पनि घर खर्च र केटाकेटी पढाउनलाई होला भनेर उहाँकै आफन्तसँग १० हजार ऋण लिएर पाण्डेसरी गए । उनी गएपछि एक पटक घरमा १२ हजार रुपैयाँ पठाए, १० हजार लिएकै ऋण तिरेको शिवानीकी आमाले निन्याउरो मुख लाउँदै बताइन् ।
उनले भनिन्, ‘घरमा चामल सकिएको थियो । त्यसमध्ये १ कठठा चामल किन्यौ । उता पनि श्रीमान नौकरी लाग्याका होटलका साहुँकी श्रीमतीको कोरोना लागेर मृत्यु भएपछि श्रीमानको नोकरी सक्यो । उनखी पनि खान बस्न समस्या छन्, अरे अर्कातिर छोरीको आँखो फुट्न लाग्यो । गेटा लिउ भन्या पैसा छैन । उपचारका लागि आफुसँग जान्या मान्छे पनि छैनन् । आफु अनपढ मान्छे समस्या जसाका तसाई छन् । मर्नुन बाँच्नु भएको छ ।’
धर्माले शिवानीको आँखाको उपचारका लागि सहयोग गरिदिन पनि सबैलाई आग्रहसमेत गरेकी छन् । बालिकाको उपचारका लागि समस्या भएपछि राष्ट्रिय समाचार समिति (रासस)का जिल्ला संवादाता रमेश केसीले बालिकाको उपचारका लागि ५ हजार सहयोग गर्ने र शिवानीको आँखाको नानी बचाउ अभियानका लागि साथीभाईहरुसँग आर्थिक सङ्कलनसमेत गर्न थालेका छन् ।
।