सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

बझाङ । बझाङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखि विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् ।

जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल डा.मिलन खड्काले जानकारी दिए । कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला अस्पतालमा भर्ना भएकी उनको आइतबार राती ११ बजे ज्यान गएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क ब्यक्ती नारायण जोशीले बताए ।

यस्तै एक जना अर्का कोरोना संक्रमितको पनि ज्यान गएको छ । कोरोना संक्रमण पुष्टी भएपछि घर जाने क्रममा बीच बाटोमै उनको आइतबार राती १२ बजे ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् । जिल्ला अस्पतालमा १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजिटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिँडेकी थिइन् ।

साँझ घर जानेक्रममा अवेर भएपछि उनी आफन्तको घरमा बसेको र राती १२ बजे उनको मृत्यु भएको आफन्तले जानकारी दिए । कोरोना पोजेटिभ भएपछि अस्पतालले उनलाई आइसोलेसनमा बस्न भने पनि उनी होम आइसोलेसनमा बस्ने भन्दै गाडी बुक गरेर घर आएको तल्कोट गाँउपालिका–१ का वडाध्यक्ष गोपाल धामीले बताए । आफुले प्रहरीलाई खवर गरेर घर आउन नदिनु भनेर जानकारी गराएको भए पनि मृतक प्रहरीलाई छलेर घर आएको वडाध्यक्ष धामीले बताए ।

जिल्लामा आइतबारसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ, भने कोरोना संक्रमित हुनेहरुको संख्या २०४ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा सोमबार विहान १ बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल बझाङले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार १५:१७