बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा.पुरुषोतम बर्मा आफैं अस्वस्थ छन् । कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५/६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ । कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन् ।
‘मलाई ५/६ दिनदेखि त्यति सञ्चो छैन, हिजो (शनिबार) त झन् धेरै गाह्रो भयो,’ उनले भने ‘कोरोनाको लक्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रिपोर्ट अझै आएको छैन ।’ कोरोनाको शंका लागेर बिरामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा. बर्माले सुनाए । बाँके, डुडुवा गाउँपालिका–२ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर पदमा कार्यरत छन् । उनी यसअघि शिक्षण अस्पताल नेपालगन्जको मेडिकल आइसियु कक्षमा कार्यरत थिए ।

नयाँ भेरियन्टको रूपमा कोरोना महामारी फैलिएपछि अस्पतालले सोही कक्षलाई आइसोलेसन वार्ड बनायो । कोरोना संक्रमितको उपचार गर्नकै लागि उनी सोही वार्डमा काम गर्न थालेका हुन् । ‘अहिले दैनिक रूपमा कोभिडका बिरामीलाई नै हेर्नुपर्छ, मलाई आफ्नोभन्दा धेरै चिन्ता बिरामीको हुन्छ,’ उनले थपे । बर्मासहित मेडिकल कलेजमा कार्यरत अन्य थुप्रै स्वास्थ्यकर्मी संक्रमित छन् । अस्वस्थ भए पनि ड्युटी निभाउनुलाई डा. बर्मा आफ्नो दायित्व र कर्तव्य सम्झिन्छन् ।
उनले थपे, ‘अस्पतालले त मलाई बिदामा बस्नुस् भनेको हो, तर मैले यस्तो महामारीको बेलामा बिरामीको उपचार गर्न छाडेर बिदामा बस्न सकिन ।’ डाक्टर र नर्सले संक्रमितको उपचारमा ध्यान दिएमा धेरैको ज्यान बच्ने बर्मा बताउँछन् । घर परिवारले पनि महामारीको समयमा आपूm सुरक्षित भएर बिरामीको सेवा गर्न सल्लाह दिने गरेको उनी सम्झिन्छन् । भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत डा.आश्री सिंहलाई बैशाख ६ गते कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बसिन् ।

होम आइसोलेसन बसाईको ११ दिनपछि शनिबार उनको कोरोना रिपोर्ट नेगेटिभ आयो । डा. सिंह अब फेरि पनि अस्पतालको ड्युटीमा जाने तरखरमा छिन् । ‘पिसिआर परिक्षण गराउँदा मेरो रिपोर्ट नेगेटिभ आइसकेको छ, अब फेरी पनि कोभिड वार्डको ड्युटीमा जाने तयारीमा छु,’ उनले भनिन् । डा. सिंहले भेरीको कोभिड वार्डमा काम गर्न थालेको करिव ७ महिना पुगेको छ । कोभिड वार्डमै काम गर्दा यसअघि संक्रमण नभएको बताउने उनी भन्छिन्, ‘यसपटक पनि सावधानी त अपनाइएकै हो, अहिले नयाँ भेरियन्टको रूपमा संक्रमण फैलिएको छ, अर्को कुरा पोजेटिभ बिरामीसँग प्रत्यक्ष सम्पर्कमा हुँदा संक्रमित भइयो ।’
घर परिवारले आफ्नो स्वास्थ्यप्रति चिन्ता गरे पनि महामारीको समयमा आफू पछाडी नहट्ने उनी बताउँछिन् । ‘यस्तो महामारीको समयमा मैले आफ्नो खुट्टा पछाडि हटाउनु हुँदैन, अगाडि बढेर सामना गर्नुपर्छ,’ डा.सिंह भन्छिन्, ‘मैले बुवा, मम्मीलाई सम्झाउने गर्छु, हामी पछाडि हटेर हुँदैन, हामी स्वास्थ्यकर्मी पछाडी हटेपछि जनताको उपचार कसले गर्ला ?’ कोरोना संक्रमितको उपचार गरिरहेका नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालका स्वास्थ्यकर्मीहरू अहिले आफ्नो स्वास्थ्यभन्दा सर्बसाधारणको उपचारमा बढी चिन्तित छन् ।

स्वास्थ्यकर्मीहरू आफै अस्वस्थ छन् । तर पनि दिनरात कोरोना संक्रमितको उपचारमा सक्रिय छन् । संक्रमितको उपचारका लागि फ्रन्टलाइनमा खटिएका यहाँका स्वास्थ्यकर्मीहरू न ढुक्कसँग सुत्न सक्छन्, न त पेटभरी खाना खान । नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा.दिनेश श्रेष्ठका अनुसार कलेजको कोहलपुर र नेपालगन्जको अस्पतालमा गरी करिब डेढ सयको हाराहारीमा कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । उनका अनुसार मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा अहिले १२ जना डाक्टरसहित कुल ७५ जना तथा शिक्षण अस्पताल नेपालगन्जमा करिव ७० जना कर्मचारी संक्रमित छन् ।
‘कोहलपुरको अस्पतालमा धेरै जनशक्ति भएको हुँदा यहाँ संक्रमित सबै स्टाफ बिदामा छन्, नेपालगन्जको अस्पतालमा जनशक्ति कम छ, त्यहाँका स्टाफ संक्रमित भए पनि प्रायः ड्युटीमै छन्,’ उनले भने । अस्पतालमा संक्रमित बिरामीको संख्या बढ्दै जाने र स्वास्थ्यकर्मी पनि संक्रमित भएमा सबैलाई ड्युटीमा खटाउनुपर्ने अवस्था आउन सक्ने उप–निर्देशक डा. श्रेष्ठले सुनाए । भेरी अस्पतालका ८ जना चिकित्सकसहित करिव ८५ जना संक्रमित भइसकेका छन् । यसमध्ये केही निको भइसकेका छन्, भने केही अझै पनि होम आइसोलेसन र अस्पतालमा भर्ना छन् ।

आफै संक्रमित भएर पनि केही स्टाफ नर्सले कोभिड वार्डमा कोरोना संक्रमितको उपचार गरिरहेका छन् । अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्मा अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने र निको हुने क्रम चलिरहेको बताउँछिन् । ‘कोरोना संक्रमण भए पनि अस्पतालमा केही नर्सिङ स्टाफ उपचारमा खटिनुभयो, अहिले धेरैजसो निको भएर पनि काममा फर्किसक्नुभएको छ,’ उनले भनिन् । आजको नागरिक दैनिकमा अर्जुन ओलीले समाचार लेखेका छन् ।
।