सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगन्ज ४ मा अक्सिजनसहितको आइसोलेसन सेन्टर  सञ्चालनमा

बाँके । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले समुदायमा महामारीको रुप लिएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ ले अक्सिजनसहितको आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ । नेपालगन्ज–४ मा रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा स्थापना गरिएको आइसोलेसनको मेयर डाक्टर धवलशम्शेर राणाले उद्घाटन गरेका छन् ।

होम आइसोलेशनमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको मेयर डा.राणाले बताए । उनले जटिल प्रकृतिका संक्रमितलाई अस्पतालमा रिफर गर्ने व्यवस्था गर्नेतर्फ केन्द्रित हुन आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

कोभिड–१९ संक्रमण न्यूनीकरण प्रयासको क्रममा नेपालगन्ज उपमहानगरपालिकाले जटिल संक्रमितहरुका लागि ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरिसकेको र थप १०० बेडको आइसोलेसन सञ्चालन गर्ने तयारी गरेको मेयर राणाले बताए । उनले वडा नं.४ ले स्थापना गरेजस्तै आइसोलेसन स्थापना गर्न नगरका सबै वडालाई सुझाव दिए ।

बाँके सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले स्वास्थ्यकर्मीसहितको आइसोलेसन निर्माण गरि सञ्चालन ल्याउनुपर्ने सबैभन्दा ठुलो कुरा भएको बताउँदै भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा वडा नं. ४ को आइसोलेसन सञ्चालन हुने र त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले समन्वय कसरी भूमीका निर्वाह गर्ने बताए ।

कार्यक्रममा उपमेयर उमा थापा मगरले आइसोलेसन सञ्चालन गर्न भनेजति सजिलो नभएकोले चनाखो भएर सञ्चालन गर्न सुझाव दिइन् । उनले पिसिआरको दायर बढाउनेतर्फ उपमहानगरपालिका केन्द्रीय भइरहेको जानकारी गराइन् । वडा नं. ४ का वडा सदस्य इन्दिरा शाहीले आइसोलेसनमा रहेका संक्रमितको सिसिटिभी क्यामेरामार्फत निगरानी गरिने बताइन् ।

वडा नं ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले डाक्टरहरुको निगरानीमा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेको बताउदै सबैलाई सहयोग गर्न अपिल गरेका छन् । वडाध्यक्ष बेहना कोरोनाको यो संकटमा व्यक्तिगत सहयोग गर्दै आएका छन् । वडाध्यक्ष बेहनाको चौतर्फी प्रशंसा भएसँगै कोभिड अवार्डबाट सम्मान गर्नसमेत जनस्तरबाट आवाज उठ्न थालेको छ ।

वडाध्यक्ष बेहनाले आइसोलेसनका लागि दुई जना डाक्टर र पाँच जना स्टाफ नर्स नियुक्त गरेर आजैबाट आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जानकारी पनि दिए । सञ्चालनमा आएको आइसोलेसन सेन्टरका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवं प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार १९:५६