सूचनाको शक्ति - The Power Of Information

        

आन्तरिक उडानमा काेटा प्रणाली लागू, कुन एयरलाइन्सको कति उडान?

काठमाडौं । नेपाल नागरिक उड्‌डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलको भीड कम गर्न भन्दै आन्तरिक उडानमा कोटा प्रणाली लागू गरेको छ।

कोरोना भाइरस संक्रमणको बढ्दो विस्तारलाई रोक्न संक्रमणरहित उडान गर्ने उद्देश्यले विमानस्थलले आन्तरिक उडानमा कोटा प्रणाली लागू गरिएको हो।

विमानस्थल कार्यालयले आन्तरिक उडान गर्दै आएका वायुसेवा प्रदायक कम्पनीहरूसँगको छलफलपछि सोमबारदेखि लागू हुने गरि उडान संख्यामा व्यापक कटौती गरेको छ।

कार्यालय प्रमुख प्रतापबाबु तिवारीका अनुसार आइतबार ७७ वटा उडान भएपनि सोमबारदेखि जम्मा ४१ वटा मात्रै उडान हुनेछ। विमानस्थल कार्यालयले एक घण्टामा ३ वटा उडान गर्नेगरि बजार हिस्साको आधारमा एयरलाइन्स कम्पनीले गर्न पाउने उडान कोटा निर्धारण गरेको हो।

जसमा बुद्धले १८, यतीले १०, श्रीले ५, स्टल २ र साना जहाजका लागि ६ वटा उडानको कोटा तोकिएको छ। उडानसँगै यात्रु पनि कम भएको विमानस्थल कार्यालयको भनाइ छ।

अहिले काठमाडौंबाट बाहिर जाँदा ७० प्रतिशतको अकुपेन्सी भएपनि काठमाडौं आउने उडानमा ३० प्रतिशत मात्रै यात्रु रहेका छन्।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार १९:४१