सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी सरकारमा हलचल

मुख्यमन्त्रीको अकस्मात राजीनामा, एकल बहुमतको सरकार बनाउने ‘आइडिया’

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री पोखरेलले अकस्मात राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिएसँगै अविश्वासको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ । लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ हो । यसमध्ये जनता समाजवादी पार्टीका ४ र नेकपा (माओवादी केन्द्र)का २ सांसद निलम्बित छन् । हाल कायम रहेको सदस्य संख्या ८१ मध्ये नेकपा (एमाले)का मात्रै ४१ सांसद छन् जुन बहुमत संख्या हो ।

अहिलेकै अवस्थामा अविश्वासको प्रस्तावको सामना गरेको भए पनि मुख्यमन्त्री पोखरेलको पक्षमा ८१ मध्ये ४१ मत सुरक्षित थियो । तर पोखरेलले गत सातामात्रै मन्त्री बनेका जसपाका ४ मन्त्रीलाई पाखा लगाएर अब एकल सरकार बनाउने बाटो खुलेको छ । यसअघि गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव सामना गर्ने क्रममा एमालेले फोहोरी खेल खेलेको आरोप लाग्दै आएको छ ।

तर लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्री पोखरेलले विवादमा नपरिकन सत्ता जोगाउने नयाँ ‘आइडिया’ निकालेको विश्लेषण हुन थालेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उनले दिएको राजीनामा स्वीकृत गरिसकेका छन् भने अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार ११:०३