सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाउनु भएकाे हाे ।

नयाँ सरकार गठनका लागि बाटाे खुला गर्नका लागि राजीनामा दिएकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभयो । प्रदेश प्रमुख यादवले मुख्यमन्त्री पाेखरेलकाे राजीनामा स्विकृत गर्नुभएको छ ।

आइतबार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता हुने कार्यक्रम थियो । उहाँ विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर, त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध यही वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्ताव दर्तापछि सांसदहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम १९ वैशाख आज दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेका तीनसहित चार सांसद मन्त्री भएका छन् । सरकारमा सहभागी भएका जसपाका चार सांसद पदमुक्त भएका छन् ।

मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन ४१ सांसदको आवश्यकता पर्छ । ४१ सांसद एमालेकै छन्, तर पार्टीभित्रको चर्को अन्तरद्वन्द्वका कारण पोखरेलको पक्षमा ४१ मत प्राप्त हुनेमा आशंका उब्जिएको छ ।

प्रदेशसभामा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका दुई, जनमोर्चाका एकजना सांसद छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार ०९:५०