सूचनाको शक्ति - The Power Of Information

        

समाचार

लुम्बिनीमा पेश हुँदै अविश्वास प्रस्ताव, जोगिएला मुख्यमन्त्री पोखरेलको सत्ता ?

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुनेछ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ । प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन् । त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन् ।

मुख्यमन्त्रीले जवाफ दिएपछि मतदान हुने कार्यसूची तय गरिएको छ । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकै दिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए ।

तर एमालेले असहमति जनाएपछि दुई दिनमा टुङ्गो लगाउने कार्यसूची तय गरिएको हो । बैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका चीन सांसद मन्त्री बनेका छन् । यी तीनसहित जसपाका चारजना पदमुक्त भइसकेका छन् । यस अघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् ।

काँग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेल सुरक्षित छन् । एमालेका २ जना सांसद नेपाल खनाल पक्षमा खुलेका छन् । कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस भए मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पर्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार ०७:५३