सूचनाको शक्ति - The Power Of Information

        

परीक्षण र उपचार निःशुल्क गर्न अदालतको आदेश

बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कोरोनाको परीक्षण र सङ्क्रमितको उपचार निःशुल्क गर्ने व्यवस्था गर्न आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिडसम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको अधिवक्ता वसन्त गौतमले बताए ।

उनले अदालतका वरिष्ठतम न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको संयुक्त इजालसले उक्त आदेश दिएको बताए । संविधान र कानुनद्वारा प्रदत्त कर्तव्य बोध गराई आमनागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचारसम्बन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न–गराउनका लागि तत्काल आवश्यक कदम चाल्न मागदाबी गर्दै कानुन व्यवसायीहरूले वैशाख १४ गते अदालतमा रिट दायर गरेका थिए ।

अदालतले निःशुल्क परीक्षण र उपचारसहित भारतीय सीमा नाका जमुनाह नजिकैको पायक पर्ने स्थानमा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर यथाशक्य छिटो निर्माण गर्न, जमुनाह नाकाबाट नेपालतर्फ प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई निःशुल्क मास्क उपलब्ध गराउन, कोभिड–१९ को चिन्ह वा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्न तथा आवश्यकता अनुसारको अक्सिजन, भेन्टिलेटर र जनशक्तिको व्यवस्था मिलाउन पनि आदेश जारी गरेको अधिवक्ता लोकबहादुर शाहले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार ०७:४०