सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारीमा नयाँ कीर्तिमान

नेपालमा हालसम्मकै धेरै संक्रमित भेटिए, एकैदिन १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकामा रहेका छन् । काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा झापामा ५२ र सुनसरीमा ६९ जना संक्रमित भेटिएका छन् ।

 

त्यस्तै प्रदेश २ मा पर्सामा सर्वाधिक १६३ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको कास्कीमा २१२, लुम्बिनी प्रदेशको बाँकेमा ५५१, रुपन्देहीमा ४२२ र दाङमा २५१ जना संक्रमित फेला परेका छन् । कर्णालीमा सुर्खेतमा ९७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिममा कैलालीमा १२५ जना संक्रमित फेला परेका छन् ।

नेपालमा हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये होम आइसोलेसनमा ४० हजार १०३ जना, संस्थागत आइसोलेशनमा ३ हजार ११० जना, आईसीयूमा ४०१ जना र भेन्टिलेटरमा ११० जना रहेका छन् । १२ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित उपचाररत छन् जसमा काठमाडौँ उपत्यका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् ।

१७ वटा जिल्लामा २०० भन्दा बढी संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमित निको पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये २ लाख ८२ हजार ३८२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ८५.९ प्रतिशत रहेको छ । पछिल्लो एक दिनमा थप १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार १८:४०