काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७७र७८ मा ४ दशमलव ०१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
कोरोना महामारीको असर चालू आवको अन्तिमसम्ममा सामान्य हुने र आर्थिक क्रियाकलाप नियमित सञ्चालन हुने विश्वासमा विभागले यस्तो प्रक्षेपण गरेको हो ।
‘यो प्रक्षेपण तयार गर्न तथ्यांक लिइएको अवधिमा कोरोनाको असर न्यून हुँदै गएको थियो,’ तथ्यांक विभागका राष्ट्रिय लेखाका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘तर, कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा पक्कै पनि यो प्रक्षेपणलाई संशोधन गर्नुपर्ने हुन्छ ।’
विभागले चैत मसान्तसम्म उपलब्ध तथ्यांकका आधारमा आगामी दुई सातापछि कोरोनाको असर सामान्य हुँदै जाने विश्वासमा प्रक्षेपण सार्वजनिक गरेको छ । जब कि सरकारले राजधानीलगायत देशका प्रमुख सहरहरूमा दुई साताको निषेधाज्ञा घोषणा गरेको छ ।
सरकारले यस आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो । तथ्यांक विभागले गत आवको आर्थिक वृद्धिको तथ्यांक पनि संशोधन गरेको छ । यसअघि अर्थतन्त्र माइनस १ दशमलव ९९ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण सार्वजनिक गरेको विभागले आर्थिक वृद्धि त्यसभन्दा पनि कमजोर भई २ दशमलव १२ प्रतिशतले माइनसमा जाने बताएको हो ।
गत आवको अन्तिम चार महिना मुलुक लकडाउनमा थियो । यो वर्ष पनि अन्तिम त्रैमासमा लकडाउन हुने र कोरोनाको असर गत वर्षको भन्दा पनि भयावह हुने संकेत देखिएको छ ।
गत आवको आर्थिक वृद्धि नेपालमा कुल गार्हस्थ्य उत्पादनको गणना हुन थालेको ५५ वर्षको इतिहासमै सबैभन्दा कमजोर हो । यसअघि ०७७ वैशाखमा गरिएको प्रक्षेपणमा कोरोनाको कारण अर्थतन्त्रको वृद्धिदर २ दशमलव २७ प्रतिशत रहने अनुमान गरिएको थियो । पछिल्लो परिमार्जनले १ दशमलव ९९ प्रतिशतले ऋणात्मक देखाए पनि अहिले त्योभन्दा नकारात्मक बनेको देखाएको छ । यसको अन्तिम वृद्धिदर भने आगामी वर्ष मात्र थाहा हुनेछ ।
विभागले आव ०७५र७६ मा आर्थिक वृद्धिदर ६ दशमलव ३९ प्रतिशत रहेको अन्तिम अनुमान सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको अनुमान तयार गर्दा आवास तथा भोजन सेवाको क्षेत्रमा भने सुधार हुन थप समय लाग्ने अनुमान विभागले गरेको छ ।
विश्व बैंकले भने चालू आर्थिक वर्षमा २ दशमलव ७ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यसको तुलनामा तथ्यांक विभागको प्रक्षेपण निकै सकारात्मक छ ।
गत वर्ष अर्थतन्त्रका धेरै क्षेत्र नकारात्मक, यो वर्ष सबै सकारात्मक
गत आव ०७६र७७ मा कृषिबाहेक अर्थतन्त्रका अधिकांश क्षेत्र नकारात्मक रहेकोमा यो वर्ष सबै क्षेत्र सकारात्मक हुने प्रक्षेपण तथ्यांक विभागले गरेको छ । गत आवमा आवास तथा खाद्यसेवा (होटेल तथा रेस्टुरेन्ट) क्षेत्र सबैभन्दा धेरै ३७ प्रतिशतले माइनसमा गएको विभागको संशोधित तथ्यांक छ । त्यस्तै, पारवहन तथा गोदाम क्षेत्र १३ दशमलव ३७ प्रतिशत र होलसेल तथा खुद्रा व्यापार १० दशमलव ६९ प्रतिशतले माइनसमा गएको तथ्यांक सार्वजनिक गरिएको छ । चालू आर्थिक वर्षमा यी तीन क्षेत्र क्रमशः ११ दशमलव २०, ६ दशमलव १२ र ५ दशमलव २७ प्रतिशतले विस्तार हुने अनुमान विभागको छ ।
नयाँ पत्रिका
।