सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या

फाइल तस्वीर

बाँके । बाँकेका अस्पतालमा पछिल्लो समय कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । गम्भीर अवस्थामा बिरामी अस्पतालमा आउने गरको कारण मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । २४ घण्टाको फरकमा ११ जनासम्म सङ्क्रमितको निधन भएको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना सङ्क्रमितको मृत्यु हुनेक्रम बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या हुन थालेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । एउटै मात्र शव वाहन भएका कारण शव व्यवस्थापनमा सम्स्या हुने गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनखरले जानकारी दिए ।

मृतकको शव घरसम्म पु¥याउन शव वाहन पठाएको अवस्थामा अस्पतालमा थप व्यक्तिको मृत्यु हुने गरेको बताउँदै प्रशासकीय अधिकृत सोनखरले एउटा शव वाहन भएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएको हुँदा जिल्ला प्रशासन कार्यालयले थप एउटा शव वाहनका लागि नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरिरहेको छ ।

गत वर्ष सङ्क्रमण बढेको समयमा शव वाहनका रूपमा प्रयोग गरिएको गाडी जिल्ला प्रशासनलाई उपलब्ध गराउन तयार भएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । गाडीको इन्धन र चालक खर्च भने प्रशासनले बेहोर्न सक्ने अवस्था नभएको प्रशासकीय अधिकृत सोनखरले बताए ।

जिल्ला प्रशासनको समन्वयमा कोहलपुर क्षेत्रमा शव व्यवस्थापनका लागि मर्मत सम्भार गरी प्रयोगमा ल्याउने गरी भन्सार कार्यालयबाट सवारी साधनको व्यवस्थापन भएको छ । चैतयता भेरी अस्पताल र शिक्षण अस्पतालमा कोभिडका बिरामीको मृत्यु हुनेक्रम बढेपछि शव व्यवस्थापनमा समस्या भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार ०८:०२