सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

सङ्क्रमण निरन्तर उकालो

कोरोनाको दोस्रो लहरलाई विद्यमान स्वास्थ्य प्रणालीले थेग्न कठिन हुनेछ ।

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण निरन्तर बढ्दै गएपछि सरकारले कोरोनाको दोस्रो लहरलाई विद्यमान स्वास्थ्य प्रणालीले थेग्न कठिन हुने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै हालको स्वास्थ्य प्रणाली र जनशक्तिले कोरोना महामारीलाई थेग्न कठिन पर्ने जनाएका हुन् ।

अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको भन्दै आम जनतालाई थप संवेदनशील हुनसमेत आग्रह गरिएको छ । मन्त्रालयका अनुसार देशभर पाँच हजार ७२७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिनसम्म पाँच हजार नाघेको थिएन ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाका पीसीआर र ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई सङ्क्रमण पुष्टि भएको हो । सहप्रवक्ता अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमण फैलने दर डरलाग्दो गरी बढेको बताए ।

सङ्क्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने कार्य गर्नसमेत उहाँले आग्रह गरे । कुनै पनि मार्गबाट विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँकतै जाने काम पूर्णरूपमा नगर्नु नगराउनुहुन तथा कुनै पनि सार्वजनिक स्थलमा जाने र भीड गर्ने काम नगर्नसमेत मन्त्रालयले आग्रह गरेको उनले उल्लेख गरे ।

सक्रिय सङ्क्रमित ४० हजार नजिक शुक्रबारको तथ्याङ्कसँगै नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ८१३ पुगेको छ । जबकि स्वास्थ्य मन्त्रालयले पहिलो लहरको कोरोना सङ्क्रमणमै २५ हजार सक्रिय सङ्क्रमित नाघेको अवस्थामा अस्पतालमा शैय्या नहुने प्रष्ट पारिसकेको थियो ।

मन्त्रालयले आँकलन गरेभन्दा यो सङ्ख्या १३ हजार ८०० ले बढी हो । पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन हजार २७९ पुगेको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमण उच्च दरमा फैलिरहेको छ ।

यसैगरी नेपालका १२ जिल्लामा ५०० भन्दा बढी र १० जिल्लामा २०० भन्दा बढी कोरोना भाइरस सङ्क्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा पनि ५०० भन्दा बढी सक्रिय सङ्क्रमित पुगेका छन् । त्यसैगरी, प्रदेश १ को सुनसरी र झापा, प्रदेश २ को बारा र धनुषा, बागमती प्रदेशको मकवानपुर र काभे्रपलाञ्चोक, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया र कपिलवस्तुमा २०० भन्दा बढी सङ्क्रमित रहेका छन् । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २०० भन्दा बढी सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको गोरखापत्रमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार ०७:५८