बाँके । स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार यही वैशाख १ गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना सङ्क्रमित भएका छन् ।
कैयौँ नर्सिङ स्टाफ सङ्क्रमित भएर पनि आफूजस्तै सङ्क्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ ।
भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा सङ्क्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफँै सङ्क्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा थापाको भनाइ छ ।
सो अस्पतालमा कोरोना बिरामीका लागि १४२ श्यया छुट्याइएकामा सङ्क्रमितको चाँपसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा २१२ बिरामी छन् । श्यया बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि सङ्क्रमित भएपछि समस्या भएको छ ।
पाँच स्टाफ नर्सले १०० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ ।
अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।
मृतकको सङ्ख्या ११० पुग्यो
बाँकेमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११० को मृत्यु भएको छ । कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ११ जनाको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेमा एकैदिन ११ जनाको मृत्यु भएको पहिलो पटक हो ।
मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनीहरु सबैको बिहिबार बाँके अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुष, वडा नं ९ का ४२ वर्षीय पुरुष, वडा नं ५ का ५५ वर्षीय पुरुष, वडा नं ८ का ३३ वर्षीय पुरुष, वडा नं १७ का ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ का ४३ वर्षीया महिला, वडा नं १३ का ५० वर्षीय पुरुष र खजुरा गाउँपालिका–२ का ६७ वर्षीया महिला रहेका छन् ।
यस्तै बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिला रहेका छन् । यससँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११० पुगेको हो ।
।