सूचनाको शक्ति - The Power Of Information

        

कहिले खुल्छन् क्वारेन्टिन बनाइएका विद्यालय ?

काठमाडौं । कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरूलाई राख्न सरकारले देशभरका कतिपय विद्यालय क्वारेन्टिनको रूपमा प्रयोग गरेको छ । ती विद्यालय कहिले खाली हुने भन्ने पनि यकिन भएको छैन । तर, सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्ने निर्णय गरेको छ ।

क्वारेन्टिनको रूपमा प्रयोग गरिएको विद्यालय खाली नभइ विद्यार्थी भर्ना अभियान कसरी सुरू गर्ने भन्ने प्रश्न उठ्न थालेको छ । क्वारेन्टिनमा प्रयोग गरिएका कतिपय विद्यालय खुले पनि विद्यार्थीहरु त्यहाँ जान डर मान्ने गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभरका चार हजार विद्यालय अहिले क्वारेन्टिनको रूपमा प्रयोग गरिएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय सञ्चालन गर्ने समयसम्म क्वारेन्टिनको रूपमा प्रयोग गरिएको विद्यालय खाली भइसक्ने बताउँछन् । ‘कोरोनाको शंका भएका व्यक्ति वा बाहिरबाट आएका व्यक्तिलाई राख्न विद्यालय क्वारेन्टिनको रुपमा प्रयोग गरिएको हो,’ प्रवक्ता शर्माले भने, ‘करिब चार हजार विद्यालय क्वारेन्टिनमा छन् । विद्यालय सञ्चालन गर्ने समयसम्म क्वारेन्टिनमा प्रयोग गरिएको सबै विद्यालय तयार हुन्छ ।’

उनले भदौदेखि भर्ना प्रकृया थाले पनि पठनपाठनका लागि केही समय लाग्ने बताए । त्यस समयसम्म स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने प्रवक्ता शर्मा बताउँछन् । ‘विद्यालयमा पठनपाठन गर्न समय लाग्ला,’ उनले भने, ‘त्यो बेलासम्म कोरोना संक्रमण पनि घट्दै जाला । स्थानीय सरकारले विद्यालय व्यवस्थापन गर्छन् ।’

क्वारेन्टिनमा प्रयोग गरिएको विद्यालयका विद्यार्थी जुनसुकै अवस्थामा पढाइबाट बञ्चित नहुने उनको दाबी छ । प्रवक्ता शर्माका अनुसार कोरोना संक्रमित नभएका ठाउँमा रहेको विद्यालय स्थानीय तहले आवश्यकताअनुसार सञ्चालनमा ल्याउन सक्ने छन् । क्वारेन्टिनमा प्रयोग भैरहेको विद्यालयमा पनि स्थानीय सरकारले नै सुरक्षा मापदण्ड अपनाएर पछि प्रयोगमा ल्याउनुपर्नेछ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ०८:४८