सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितलाई डोल्पा प्रवेशमा रोक

डोल्पा । हिमाली जिल्ला डोल्पा प्रवेश गर्न एन्टिजेन वा पिसिआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ । देशव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस संक्रमणबाट डोल्पालाई सुरक्षित बनाउन जिल्ला प्रवेशका लागि पिसिआर वा एन्टिजिन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको हो ।

हवाई र स्थलमार्गबाट भित्रने सर्वसाधरणबाट कोरोना भित्रनसक्ने भन्दै बैशाख २० देखि लागु हुने गरी उक्त व्यवस्था अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए । पिसिआर वा एन्टिजेन नेगेटिभ नभएका कुनै पनि व्यक्ति डोल्पा भित्रन नपाउने उनले बताए ।

जुफाल विमानस्थलमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै हवाई मार्ग हुँदै नेपालगञ्जबाट आएका ४२ जनाको एन्टिजेन परिक्षण गराउँदा थप तीनजनामा पनि कोरोना देखिएको प्रजिअ ढकालले जानकारी दिए ।

संक्रमित चारैजनाको अवस्था सामान्य भएकाले सबैलाई सुरक्षित तरिकाले होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । डोल्पमा यसअघिनै कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने तथा पूर्व निर्धारित वार्षिक परीक्षा समेत स्थगन गर्ने निर्णय भइसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ०८:४६